
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन हजार ५ सयले घटेर रु. एक लाख दुई हजारमा झरेको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला रु. एक लाख पाँच हजार ५ सयमा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार ५ सय तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु. एक लाख पाँच हजार थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. ४५ ले घटेर रु. एक हजार ४०५ पुगेको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ ।











