काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् ।
महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ्ग राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङ्गको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा बहस गर्न नमिल्ने तर्क गरे ।

आज बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरूले निर्वाचन आयोगले गरेको निणर्यमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिएका हुन् ।
अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ्ग राख्ने निर्वाचन आयोगको निणर्य नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङ्गबाट नतर्सिन पनि आग्रह गरे ।
उनले अध्यक्ष ओलीलाई मतपत्रको रङ्गभन्दा पनि आफ्नो ढङ्ग सच्याउन सुझाव दिए । उनले भने, ‘कुन रङ्ग राखिएको छ भनेर रङ्गतर्फ भन्दा पनि आफ्नो ढङ्ग सच्याउनतर्फ लाग्नुपर्छ । रङ्गले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रष्ट छौं । मतपत्रमा हरियो रङ्ग देख्ने बित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यस कारण मतपत्र हेरेर नतर्सिऔं । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउँला । त्यो बेला पनि नतर्सिऔं भनेर म आग्रह गर्न चाहन्छु ।’
महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ्ग राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङ्गबाट नडराउन आग्रह गरे । उनले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरूको समीक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिए ।
उनले भने, ‘कमरेड केपी ओलीले पाँच वर्षको शासन चलाउँदै गर्दा तीन वर्षमा कति ठिक ढङ्गले शासन गर्नुभयो ? कति दिएका आश्वासन पूरा गर्नुभयो ? कति सैद्धान्तिक रूपमा सही कर्म गर्नुभयो ? कति स्थिरताका लागि दिएका वचन पूरा गर्नुभयो ? हामीमाथि प्रश्न गरौं न । सैद्धान्तिक बहस गरौं, वैचारिक बहस गरौं । समृद्धिको सबालमा बहस गरौं ।’
अध्यक्ष ओलीले केही दिनअघि नेपाली कांग्रेसको मत चिह्न हरियो रङ्गको रहेको उल्लेख गर्दै सबैले हरियो रङ्ग देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ्ग राख्ने निणर्य गरेको आरोप लगाउनु भएको थियो ।














