कास्की । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एकआपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।
लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उनले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको बताए ।
कृषिमा चाँडो आत्मनिर्भर बन्नसक्ने देखिएको बताउँदै उहाँले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उनले यस क्षेत्रलाई सरकारले अंशियारका रुपमा लिएको धारणा राखे ।
पोखरा पर्यटनको राजधानीका रुपमा रहेको चर्चा गर्दै उनले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पूँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याए ।
आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्य जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।














