
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार सुर्खेत जाने भएका छन् ।
माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड आज सुर्खेत जान लागेका हुन् ।
माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित प्रदेश इन्चार्ज शक्ति बस्नेत पनि सहभागी हुनेछन् ।
वीरेन्द्रनगरको सिटीहलमा हुने कार्यक्रममा कर्णालीका ७९ वटै पालिका, जिल्लाका पदाधिकारी र प्रदेश कमिटीका पदाधिकारीहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रशिक्षणमा प्रदेश सल्लाहकार, प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने बताइएको छ । प्रचण्ड शुक्रबार नै प्रशिक्षण सकेर प्रचण्ड काठमाडौं फर्किने तयारी छ ।














