सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको बताएका छन् ।
शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले देश माओवादीकै एजेन्डामा चलिरहेको समेत दावी गरे । साथै, उनले आगामी निर्वाचनसम्म गठबन्धन रहने पनि बताए । अध्यक्ष प्रचण्डले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटपट नरहेको बताए ।
उनले भने, ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’
उनले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गर्दै भने, ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’














