
काठमाडौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ ।
नेपालको तर्फबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्तव्य राखेका हुन् । खेलकुदमा एन्टि डोपिङ सम्बन्धी १७ औं एशिया/ओशिनिया क्षेत्र अन्र्तसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तव्य राख्दै उनले खेलकुदमा एन्टि डोपिंगको अभियानलाई सार्थक बनाउने विषयमा जोड दिए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठनगरी प्रक्रिया सुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानुन निर्माणगरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए । त्यसक्रममा नेपालले जारी राखेको प्रयासको सहभागी राष्ट्रहरुले सह्राना गरेका थिए । मार्च १४ देखि १५ सम्म चल्ने सो बैठकमा ४५ देशको सहभागिता रहेको छ ।
बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ । जस अनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिंग संस्थाहरुलाई थप प्रभावकारी बनाउने कुरामा जोड दिइएको छ ।











