Logo
Logo

सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी

कांग्रेसलाई सरकारमा सहभागी गराउने दलहरुबीच सहमति



धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमबार धनगढीमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई पनि ल्याउने सहमति भएको बताएपछि नेत्तृत्व परिर्वतनका लागि एकीकृत समाजवादी र कांग्रेस लागिपरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई ल्याउने सहमति भएसँगै सरकार परिवर्तनको सम्भावना बढेको हो । नेपाली कांग्रेसलाई सरकारमा ल्याउने गठबन्धनको तयारीसँगै सरकार परिवर्नतको विषय चर्चा हुँदै आएको छ ।

कांग्रेसले सरकारमा चाँडै सहभागी गराउन अनुरोध गर्र्दै ढिलाई गरे समस्या निम्तिने चेतावनी दिएको छ भने सबैभन्दा ठूलो दल एकीकृत समाजवादीले प्रदेश सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारी गरेको छ ।

नेकपा एमाले विभाजनको संघारमा पुगेका बेला तत्कालीन माधव नेपाल समूह र माओवादी केन्द्र गठबन्धन बनाएर गत जेठ १४ गते सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको थियो ।

त्यसपछि एमाले विभाजन भएर एकीकृत समाजवादी बनेदेखि प्रदेशमा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रको सरकार छ । केन्द्र तथा ६ वटा प्रदेशमा कांग्रेससहित गठबन्धनको सरकार बनेको भएपनि सुदूरपश्चिममा हालसम्म काँग्रेसलाई सरकारमा सहभागी गराइएको छैन ।

स्थानीय तहको निर्वाचनसम्म गठबन्धन कायम राख्नका लागि माओवादी केन्द्रले सुदूरपश्चिम सरकारमा नेपाली कांग्रेसलाई ल्याउने तयारीमा छ भने एकीकृत समाजवादी कांग्रेसलाई सरकारमा ल्याएपनि नेत्तृत्व पनि परिवर्तन हुनपर्छ भन्नेमा लागिपरेको छ ।

समाजवादीले सुदूरपश्चिम प्रदेशमा ठूलो भएको दाबी गर्दै नेत्तृत्व पनि आफूहरुले पाउनु पर्ने माग गर्दै आएको छ ।

गठबन्धन बनेको लामो समयसम्म कांग्रसलाई सुदूरपश्चिम सरकारमा सहभागी नगराएको भन्दै प्रदेश संसदहरु रुष्ट भएका थिए । प्रदेशसभा सुरु हुनु अघीनै काग्रेंसलाई सरकारमा सहभागी नगराए समस्या निम्तिने चेतावनी कांग्रेसले दिँदै आएको थियो ।
कांग्रेसका प्रदेशसभा सदस्य तथा संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले केन्द्रमा भएको गठबन्धनकै बेला कांग्रेसलाई सरकारमा लानुपर्ने भएपनि सत्तारुढ दलले बेवास्ता गरेको बताए ।

‘हामीलाई त्यतिबेलानै गठबन्धनको सरकारमा हामीलाई पनि ल्याउन पर्छ’ पन्तले भने, ‘ढिलो भइसकेको छ, अब धेरै ढिलो गर्नुहुन्न ४–५ दिनमै काँग्रेसलाई सरकारमा नलिए ठूलै समस्या निम्तिन सक्छ ।’ कांग्रेसलाई दुई मन्त्रालय र अन्य राज्यमन्त्रीसहित सरकारमा लानुपर्नेमा उनले जोड दिए ।

तर, यता सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नै नेतृत्वमा काँग्रेस सहितको सहभागितामा सरकार बनाउने गृहकार्य थालेको छ । स्वभाविक रुपमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्नुपर्ने भन्दै सुदूरपश्चिममा अब समाजवादीले नेतृत्व गर्नुपर्ने पार्टीको जोड छ । तर, केन्द्रमा नेताहरुको बैठकलेनै निष्कर्ष निकाल्ने र यहाँको माग सम्बोधन हुनेमा सुदूरपश्चिमको संसदीय दल ढुक्क छ ।

‘हाम्रो पार्टीले सरकारको नेतृत्व गर्ने र मन्त्री परिवर्तन गर्ने कुरा संसदीय दलमा पठाएको छैन’, नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक दुर्गा कामीले भने, ‘सरकारमा काँग्रेसलाई लानुपर्छ भनेर कुरा आएको छ । सोमबारमात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेपनि भन्नुभएको छ, त्यसबारे गठबन्धनमा नेताहरुबीच छलफल भइरहेको छ । निर्णय हुने बित्तिक्कै हामी मन्त्री परिवर्तन गछौं र काँग्रेसलाई सरकारमा ल्याउँछौँ ।’

स्वभाविक रुपमा नेकपा एकीकृत समाजवादी ठूलो पार्टीको हिसावले सुदूरपश्चिममा नेत्तृत्व गर्ने उनले बताए । माओवादीले पनि सरकार परिवर्तन हुने सम्भावना रहेको जनाएको बताउँदै उनले गठबन्धनको भागबण्डाका आधारमा तीन दलले दुई÷दुई र मधेसमा जसपाले नेतृत्व गर्ने सहमती अनुसार सबै प्रदेशको नेतृत्व भइरहेको छ । तर, बागमतीमा माओवादीले नेतृत्व गर्ने कुरा उठिरहदा सुदूरपश्चिममा छोड्नु पर्ने अवस्था आउन सक्ने बताए ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले सरकारनै परिवर्तन हुन सक्ने बताए । नेकपा एकीकृत समाजवादी पार्टीको मागअनुसार बागमती प्रदेशको मुख्यमन्त्री माओवादीलाई र सुदूरपश्चिममा समाजवादीलाई दिन सक्ने रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्