काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा बल्ल भारतले सहमति (एग्रिमो) पठाएको छ । नेपाल सरकारले सिफारिस गरेको तीन महिनापछि मंगलबार भारतले डा. शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि डा. शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् । सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो ।
संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ गते परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।











