Logo
Logo

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल बेल्जियम प्रस्थान गर्दै


1.4k
Shares

फाइल फोटो

काठमाडौं । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ ।

एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उनी निर्णायक मण्डलमा छनोट भएका हुन् । बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिवार र आइतवार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उनी आजै त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल तेक्वान्दो संघले रेफ्री ढकाललाई बुधवार नै बिदाइ गरिसकेको छ । रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का लागि पनि निर्णायकमण्डलमा रहन ढकाललाई निमन्त्रणा प्राप्त भइसकेको छ ।

यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक थिए । चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगितामा समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उनको लोकप्रियता बढेको हो । चीनकै उसि सहरबाट विसं २०७० मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गरेका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन् ।

काठमाडौंमा भएको दक्षिण एशियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकाल रेफ्री थिए । तेक्वान्दो विधामा छोटो समयको तीव्र प्रतिस्पर्धाका खेलाडीबीच सही निर्णय सुनाउन तटस्थता, निष्पक्ष, साहसिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरियता नजिक रहेका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन् ।

प्रतिक्रिया दिनुहोस्