Logo
Logo
समाचार टिप्पणी

समाजवादीलाई छिर्के हान्दै एमाले


102.2k
Shares

काठमाडौं । पाँच दलीय गठबन्धनलाई तलमाथि नपारेसम्म आगामी स्थानीय तह निर्वाचन कष्टपूर्ण हुने अनुमानका साथ अहिले नेकपा एमालेले कांग्रेस र माओवादीका नेताहरुसँगको संवादलाई तीव्र पारेको समाचार स्रोतले दृष्टिलाई बताएको छ ।

निर्वाचन परिणाम आफूअनुकूल बनाउनेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धनबाट ‘बिचल्ली’ बनाउने एमालेको ध्येय छ । यसर्थ, उसले केही महानगर र उपमहानगरमा कांग्रेस र माओवादीसँग मेयरको भागबण्डा लगाउने गरी कुरा अगाडि बढाएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार, कांग्रेस नेतृत्वले एमालेको प्रस्तावमाथि त्यति चासो देखाएको छैन । तर, माओवादीका नेताहरुले एउटा महानगर र कम्तीमा पाँचवटा उपमहानगर पाएमा विचार गर्न सकिने जवाफ दिएका छन् । यद्यपि, स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने एकीकृत समाजवादीलाई अलग्याएर कोहीसँग गठबन्धनमा सामेल नहुने अडानमा छन् ।

एमाले महासचिव शंकर पोखरेलले नेपालको राजनीति दुई ध्रुवीय हुने र त्यसमा एमालेले वामपन्थीहरुको नेतृत्व गर्ने अभिव्यक्ति दिनुका पछाडि केहीदिन यता माओवादी अध्यक्ष प्रचण्डसँग एमालेको बाक्लिएको छलफल मुख्य कारक भएको अनुमान केही नेताहरुले गरेका छन् ।

माओवादीस्रोतका अनुसार, स्थानीय तह निर्वाचनका क्रममा कुनै एक दलसँग एकमुष्ट सहमति देशभरिको निर्वाचन परिचालन सम्भव नहुने भएका कारण जहाँ, जोसँग मिल्दा परिणाम फलदायी हुन्छ, त्यहाँ, त्यहीसँग मिलेर जाने नीति पार्टीले अख्तियारी गरेको छ ।

स्थानीय तह निर्वाचन कष्टपूर्ण हुने अनुमानका साथ एमाले छटपटीमा छ । एकीकृत समाजवादीलाई पत्तासाफ बनाउन कांग्रेस र माओवादीसँग गठबन्धन बनाउन चाहन्छ । तर, एकीकृत समाजवादीलाई छोडेर अरु कोहीसँग गठबबन्धन नगर्ने माओवादीको अडान रहेको छ ।

त्यसैले, एमालेसँग गठबन्धन गर्दा एमाले र माओवादीका लागि फलदायी हुने स्थानीय तहहरुको पहिचान गर्ने र गठबन्धनको रणनीति तय गर्ने प्रस्ताव एमालेबाट आएको स्रोतले जनाएको छ ।

त्यसक्रममा भरतपुरमा एमालेले माओवादीलाई मेयर दिने र एमालेले उपमेयरसहित बहुमत वडा लिने प्रस्ताव गरेको छ । त्यसबाहेक केही उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुका हकमा पनि माओवादीलाई एमालेले सहज बनाइदिने प्रस्ताव गरेको स्रोतले बताएको छ ।

यद्यपि, माओवादीले एकीकृत समाजवादीबिनाको गठबन्धन स्वीकार गरेको छैन । एमाले भने समाजवादीसहितको गठबन्धन गर्ने भए गठबन्धनको अध्याय नै समाप्त गरौँ भन्ने ढंगले पेश भइरहेको छ ।

नेपाली कांग्रेसले निर्वाचनको उम्मेदवारी तय गर्ने आखिरी समयमा महत्वपूर्ण स्थानीय तहहरुमा मूल नेतृत्व आफूतिर दावी गर्ने र सहायक नेतृत्वहरुमा मात्रै माओवादी, समाजवादी, जसपा र जनमोर्चालाई थन्क्याउने खतरा रहेको एक नेताले दृष्टिलाई बताएका छन् ।

यही सूचनाका आधारमा एमालेले माओवादीसँग संवाद अगाडि बढाएको बुझिन्छ । एमालेको तर्फबाट स्थानीय तह निर्वाचनमै वामपन्थी गठबन्धनको विषय उठ्न थालिसकेको छ । तर, त्यो गठबन्धनमा समाजवादी साथ रहन नहुने उसको शर्त छ ।

एमालेको शर्तलाई माओवादी र जनमोर्चाले स्वीकार गर्ने सम्भावना छैन । स्रोतले जनाएअनुसार, एमालेले यस्तै संवाद जसपा नेतृत्वसँग पनि अगाडि बढाएको बुझिएको छ । जसपाभित्र बाबुराम र उपेन्द्र यादव पक्षीय धार फरक–फरक छन् । त्यसमध्ये स्थानीय तहमा बाबुरामको भन्दा उपेन्द्रपक्षीय धारको वर्चस्व बढी भएका कारण एमालेले उपेन्द्र यादवसँग कुराकानी अगाडि बढाएको बताइन्छ ।

एमालेले माओवादी र जसपाका नेताहरुसँग कुराकानी शुरु गरेको सन्देश कांग्रेसलाई दिएपछि कांग्रेस उनीहरुसँग सशंकित हुने र त्यही सानो प्वालबाट गठबन्धन बिथोल्ने एमाले रणनीति रहेको एक माओवादी नेता बताउँछन् ।

‘पाँच दलीय गठबन्धन मजबुत विश्वासका साथ टिकेको हो’, ती नेताले भने, ‘एमालेले फुटाएर फुट्ने तहमा गठबन्धन छैन ।’ गठबन्धन भाँडेर आफू हावी हुने रणनीति अख्तियारी गरेको एमालेसँग आफूभित्रैको भाँडभैलोको खतरनाक छ ।

स्रोतका अनुसार, स्थानीय निर्वाचनको उम्मेदवारीका क्रममा एमालेकै कतिपय जनप्रतिनिधिले टिकट नपाएको अवस्थामा एकीकृत समाजवादीतिर जाने सम्भावना छ । एमालेले टिकट नदिएपछि समाजवादीबाट टिकट लिने र गठबन्धनको बलमा जित्ने दाऊ हेरेर बसेका कतिपय जनप्रतिनिधिबारे एमालेले शुक्ष्म अध्ययन गरिरहेको छ ।

एमालेले यसचोटिका कुनै पनि निर्वाचनमा ओलीपक्षका भित्रियाबाहेक अरुलाई उम्मेदवार नबनाउने नीति लिएको बुझिएको छ । विशेष गरी १० बुँदे पक्षधर जनप्रतिनिधिलाई टिकट नदिने नीति छ ।

स्थानीय निर्वाचनमा १० बुँदे पक्षधरमाथि महाधिवेशनकै जस्तो व्यवहार गरियो भने पार्टीभित्र विष्फोट हुने खतराका कारण उनीहरुलाई प्रदेशसभा र प्रतिनिधिसभाको टिकटको लोभ देखाएर पार्टीमा अड्याउने एमालेको नीति छ ।

स्थानीय निर्वाचनको विषयलाई लिएर काठमाडौं महानगरपालिकाको मेयरको दावेदारी बढेपछि एमालेभित्र कचिंगल शुरु भइसकेको छ । एकथरि एमालेहरु अहिलेकै मेयर विद्यासुन्दर शाक्यलाई निरन्तरता दिने दबाब दिइरहेका छन् । तर, बालकोटबाट केशव स्थापित अगाडि सारिएका छन् ।

पार्टी महाधिवेशनमा पनि अन्यायमा पारिएका रामवीर मानन्धरलाई मेयरको टिकट दिनुपर्ने माग उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन् । मानन्धरले यदि टिकट पाएनन् भने समाजवादीबाट टिकट लिने र एमाले हराइदिने चेतावनी दिएका छन् । यद्यपि, समाजवादीले सुभानकुमार श्रेष्ठ वा पूर्वमिस नेपाल श्रृंखला खतिवडालाई मेयरमा आगाडि सार्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्