काठमाडौं । फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएपछि घटनामा मुछिएका सबै हाजिरी जमानीमा छुटेका छन् ।
दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम नभएको पुष्टि भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलले बताए । यससँगै युरेनियम कारोबारीको आशंकासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । उनीहरु शुक्रबार जमानीमा रिहा भएका हुन् ।

भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीले खोजबिनका क्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको अवस्थाको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ललितपुरका नवराज महत, सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर रहेका थिए ।











