Logo
Logo

खेलकुदमा सदस्य सचिवको दौड सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट कार्यकाल पूरा गरी असार ९ बाट बिदा हुँदैछन् । बिष्टको कार्यकाल सकिने भएपछि परिषदको सदस्य सचिवका लागि तीव्र दौडधूप सुरु भएको छ । बिष्ट स्वयं नै सदस्य सचिव हुने दाउमा लागेका छन् । १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता(साग)सम्म भए पनि बिष्ट सदस्य सचिवमा दोहोरिने सपना देखेका छन् ।

आगामी २०७६ मंसीर १५ गतेदेखि २४ सम्म सो प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मालाई पनि बिष्टले सागसम्म रहनका लागि लबिङ गरिरहेका छन् । सदस्य सचिवका लागि उपाध्यक्ष पिताम्बर तिम्सिना पनि सक्रिय रुपमा लागेका छन् । उनी उपाध्यक्षलाई नै कार्यकारी बनाउनुपर्ने पक्षमा पनि छन् । तर नयाँ बन्ने ऐनमा पनि सदस्यसचिव नै कार्यकारी पदका रुपमा राखिएकाले त्यो संभावना पनि कम छ । परिषदको सदस्य सचिवमा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाका गोविन्द थापाको नाम पनि लिने गरिएको छ । उनी युवासंघका पूर्वउपाध्यक्ष हुन् । ओली प्रधानमन्त्री भएपछि उनी बालुवाटारको आडमा प्रहरीका नियुक्तिदेखि सरुवा बढुवाको लिष्ट बोक्नेदेखि सचिव, सहसचिवहरुको सरुवामा पनि मोलतोल गर्नेमा पर्दछन् । राज्यलक्ष्मी गोल्छालाई एमालेले सभासद् बनाउँदा लिएको करोडौं रुपैयाँ उनको नाम मुछिएको थियो । उनी ओलीका प्रियपात्र हुन् भनिन्छ । परिषदको सदस्य सचिवमा गोल्डेनगेट कलेजका संचालक रमेश सिलवाल र नेकपा केन्द्रीय सदस्य विनोद ढकालको नाम पनि चर्चामा आउने गरेको छ । यद्यपि, ढकालले आफूले सदस्य सचिवको दाबी नगरेको भन्दैआएका छन् ।

परिषदको उपाध्यक्ष, पार्टीको खेलकुद महासंघको अध्यक्ष र ७ वटा मध्ये ६ वटै खेलकुद महासंघका इन्चार्ज पनि साविक एमालेले लिएकाले सदस्य सचिव माओवादी केन्द्र निकटले पाउनुपर्ने भन्ने सशक्त दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि परेको छ । माआोवादी केन्द्र निकटबाट परिषदका सदस्य सुदिल शाही सदस्य सचिवका प्रबल दाबेदार देखिएका छन् ।

त्यसो त शिव कोइराला ज्वाला, दानबहादुर तामाङले पनि दाबी गरिरहेका छन् । ज्वाला काठमाडौं वाइसीएलका पूर्वअध्यक्ष हुन् भने तामाङ म्यानपावर ब्यवसायी हुन् । तामाङ नेकपा अध्यक्ष दाहालको गृहजिल्ला चितवनका हुन् । चुनावमा उनले दाहाललाई सहयोग गरेकाले उनले त्यो पद दाबी गरिरहेका छन् । सदस्यसचिवका प्रबल दाबेदार शाही प्रचण्डलाई टेबुलटेनिस सिकाउँछन् । उनलाई उपाध्यक्ष बनाउन प्रचण्डले पहल गरे पनि उनी म्याग्दीमा गएको बेला ओलीले सुटुक्क तिम्सिनालाई उपाध्यक्ष बनाइएको थियो । खेलकुदमा पूर्वमाओवादीलाई पूरै माइनस गरिएको गुनासो माओवादी केन्द्रका नेताहरुले प्रचण्डलाई समेत सुनाइसकेका छन् । र, सदस्य सचिव कुनै हालतमा छाड्नु नहुने दबाब प्रचण्डमाथि परेको छ । पूर्वएमालेकै जगत विश्वकर्मा खेलकुद मन्त्री छन् । त्यही भएर परिषदको सदस्य सचिव छाड्नै नहुने पक्षमा पूर्व एमाले पंक्ति छ ।

प्रतिक्रिया दिनुहोस्