Logo
Logo

मन्त्री गहतराजद्धारा चलचित्र ‘एञ्जिला’को प्रशंसा



काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिएको विषय भएको बताएका छन् ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एञ्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र “एञ्जिला” को घोषणा सभामा बोल्दै मन्त्री गहतराजले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने बताएका हुन् । नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएकोप्रति खुसी व्यक्त गर्दै उनले एञ्जिला फिल्म मार्फत नेपाली खेलाडीहरुको मनोबल बढाउन फिल्म निर्माण पक्ष सफल हुने विश्वास समेत व्यक्त गरे ।

“हाम्रो देशलाई अन्तराष्ट्रियस्तरमा चिनाउने कला, संस्कृति र खेलकुद हुन् । यहाँ दुवै पक्ष जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु,” मन्त्री गहतराजले भने । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा “एञ्जिला” फिल्म कोशेढुङ्गा सावित हुने बताए । फिल्म निर्माण पक्षले निकै सह्राहनीय कार्यको थालनी गरेको उल्लेख गर्दै डा. रेग्मीले आवश्यक सहयोगका लागि मन्त्रालय सधैँ तयार रहेको बताए ।

मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र “एञ्जिला” को शुक्रबार घोषणा गरिएको हो । उक्त चलचित्रमा फुटबल खेलाडी एञ्जिला तुम्बाफो सुब्बा आफैँ प्रमुख भूमिकामा देखिनेछिन् भने दयाहाङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस्