
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनेकौं कठिनाइ बेहोर्दै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको बताएका छन् ।
शनिबार देशकै दोश्रो ठुलो २२०/१३२ के.भी.खिम्ती सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले यसबाट जलविद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको बताए । उक्त आयोजनाका अध्यक्ष समेत रहेका घिसिङले यो सफलताबाट भविष्यमा यस्तै ठूला आयोजनाहरू स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्ने सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको बताए ।
दैनिक पिकिङ प्रकारको माथिल्लो तामाकोसीले सुक्खा मौसममा पनि दैनिक कम्तीमा ४ घण्टासम्म पूर्ण क्षमतामा (४५६ मेगावाट) विद्युत उत्पादन गरी नेपालको राष्ट्रिय विद्युत प्रसारण प्रणालीलाई ठुलो मद्दत पुर्याइरहेको उनको भनाई छ ।

माथिल्लो तामाकोशीको छेउमा रहेको २० मेगावटको रोल्वालिङ खोला हाइड्रोपावर निर्माणाधीन रहेको बताउँदै त्यसबाट उत्पादन भएको विद्युत पनि तामाकोशीमा मिसाउने योजना रहेको उनले सुनाए । ‘वार्षिक २ अर्ब २८ करोड युनिट विद्युत उत्पादन हुने आयोजनाले दोश्रो चरणमा २० मेगावाटको रोल्वालिङ खोला निर्माण गर्दैछ । रोल्वालीङ खोलालाई माथिल्लो तामाकोसीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेगावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट विद्युत ऊर्जा थप हुनेछ’, उनले भने ।
उपभोक्तालाई सस्तो बिजुली उपलब्ध गर्ने उद्देश्यसहित निर्माण भएको माथिल्लो तामाकोसीको प्रति युनिट औसत ४।०६ रुपैयाँ विद्युत खरीद बिक्री दर रहेको छ । यसबाट आम उपभोक्ताले सस्तो दरको बिजुली पाउने प्रत्याभूति हुनुको साथै प्राधिकरणको वित्तीय अवस्थामा समेत उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।
माथिल्लो तामाकोसीको सञ्चालनपछि हाल बिहान र साँझको पिक आवरको समयमा भारतबाट आयात गरिने विद्युतको परिमाणमा करिब आधाभन्दा बढी घटेको घिसिङले उल्लेख गरे ।














