काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वामपन्थी पार्टीबीच एकता गर्ने कि दुई दलीय अभ्यासमा जाने भन्ने विषयमा फरक कोणबाट छलफल भएको छ । बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वामपन्थी एकताको प्रस्ताव गरेका छन् ।
सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिष्टम पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले वहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिष्ट एकता चाहेको हुनाले कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको प्रस्ताव गरेका छन् ।
भूसालले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिष्ट गठबन्धन आवश्यक रहेको बताएका हुन् । यसका लागि नेकपा एमालेले नै पहल गर्नुपर्ने पनि उनको भनाइ छ ।
एमाले वाम एकताको मूल प्रवाह भएकोले पनि यसले पहल गर्नुपर्ने उनको तर्क छ । साथै तत्कालीन नेकपा विघटनका सैद्धान्तिक तथा बैचारिक कारण नभएकाले गठबन्धन सम्भव रहेको उनको तर्क थियो ।
भुसालको सो प्रस्तावमा पोलिटब्यूरो सदस्य महेश बस्नेतले भने फरक मत राखेका छन् । उनले प्रचण्ड–माधव समूहमा रहेका कार्यकर्तालाई एमालेमा प्रवेश गर्न आह्वान गर्ने र देशभर नेकपा एकताको निरन्तरताका रुपमा माओवादी पंक्तिलाई एमालेमा समेट्ने बताए ।
उनले नेता मिलाएर पार्टी बलियो नहुने भन्दै कार्यकर्तालाई एमालेमा ल्याउने तर अहिले प्रचण्ड–माधवसँग सहकार्य गर्न नसकिने बताएका थिए ।














