Logo
Logo

पशुपति मुरारकालाई जोगाइयो



काठमाडौं । खानी क्षेत्रमा लुट मच्चाइरहेका केही व्यवसायीविरुद्ध हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपनि खानी तथा भुभर्ग विभाग तथा वन विभागले भने संरक्षण गर्दै आएको खुलेको छ । खानी क्षेत्रमा बदमासी गर्नेहरूलाई केही समय रोक्ने र बार्गेनिङ मिलेपछि उन्मुक्ति दिने खेल चल्दै आएको छ ।

व्यवसायी पशुपति मुरारकाको कम्पनीलाई पनि हालै खानी विभाग तथा वन कार्यालयले जोगाएको छ । मुरारकाको पाल्पास्थित सिद्धार्थ मिनरल्स प्रालिले अधिक चुनढुंगा उत्खननसँगै वन क्षेत्रमा पनि उत्खनन गरेको पुष्टि भएको थियो । जसमा करिब आठ महिना उत्खनन रोकेर बिनाकारबाही हाल फुकुवा गरिएको छ । तोकिएको क्षेत्र बाहिर उत्खनन गरिएको क्षेत्रमा वृक्षरोपण गर्ने र अबदेखि तोकिएको क्षेत्रबाहिर उत्खनन नगर्ने सर्तमा फुकुवा गरिएको छ । जबकी, यस्तो अवस्थामा वन मुद्दासमेत लाग्ने र लाइसेन्स नै खारेज हुने कानुनी प्रावधान छ । तर, मुरारकाको कम्पनीलाई सामान्य जरिवानासमेत गरिएको छैन । यसअघि पनि सो कम्पनीलाई पटक पटक कारबाही हुँदै आएको छ । सोही चुनढुंगाबाट मुरारकाले अर्घाखाँची सिमेन्ट बनाएर बेच्दै आएका छन् ।

सिद्धार्थ मिनरल्सले ४.९८ हेक्टर जग्गामा मात्र खानी सञ्चालन गर्न अनुमति लिएकोमा करिब सात हेक्टर जमिनमा तारबार गरेर खानी चलाउँदै आएको विभाग स्रोत बताउँछ । उसले तोकिएको क्षेत्रबाहिर गएर उत्खनन गरेको र सर्तअनुसार वृक्षरोपणसमेत नगरेको विभागको फिल्ड रिपोर्टमा उल्लेख छ ।

अधिक उत्खनन गरी क्षतिपूर्ति नतिरेको प्रकरणमा यो उद्योगमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १२ माघमा मुद्दा दायर गरेको थियो । ४९ करोड ४५ लाख ५१ हजार बिगो कायम गरी आयोगले सो उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । अधिक उत्खनन गर्दा सो क्षेत्रमा ठूलो वातावरणीय असर परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्