
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
चुनावी गठबन्धनको विषयमा आजदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल भएर निर्णय हुन सक्ने अनुमान गरिएको छ ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी र ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय भएको छ ।
संसदीय समिति गठनबारे पनि छलफल गर्ने कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति र प्रचारप्रसार मूल समिति गठन गर्ने तयारी रहको पार्टी केन्द्रीय कार्यालयका सचिव एवम् सूचना अधिकारी केशव रिजालले जानकारी दिए ।
संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहका संसदीय समितिले विधान अनुसार तोकिएको तहको उम्मेद्वारको निर्णय गर्न पाउने विधानमा व्यवस्था छ छ । सोहि व्यवस्थाअनुसार स्थानीय तहको चुनाव लक्षित काम गर्न जिल्लाहरूलाई सर्कुलर जारी गरेको रिजालको भनाई छ ।
केन्द्रीय समिति बैठकमा एजेन्डागत र विभिन्न समसामयिक विषयमा सदस्यहरूले धारणा राख्ने नेता मिन विश्वकर्माले जानकारी दिए । बैठकमा चुनावी गठबन्धनको विषयमा कुरा उठे पनि निर्णय नै भने नहुने पार्टी कार्यालयका सचिव तथा सूचना अधिकारी रिजाल पनि बताउँछन् । चुनाव आउन धेरै समय नै बाँकी रहेको अवस्थामा चुनावी तालमेलको घोषणा गर्दा नाफा वा घाटा जे पनि हुन सक्न भएकाले पनि यति छिट्टै घोषणा नहुने उनको भनाई छ ।
कांग्रेसका केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनको लागि तत्काल उम्मेद्वारको तय गर्दा चुनावी प्रचारप्रसार गर्न थप सजिलो हुने बताएका छन् । एक केन्द्रीय सदस्यले उम्मेद्वार टुंगो लगाएर निर्वाचन लक्षित अभियानमा जाँदा थप उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र फरक फरक मत छ, पार्टीको आधिकारीक धारणा भने आजदेखि बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने तयारी छ ।











