Logo
Logo

डिआईजी सरुवामा चलखेल, जुनियरको कमाण्डमा सिनियर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ असार ।
प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीको सरुवा भएको छ । प्रधानमन्त्रीसँग फोनमै राय लिएर गृह मन्त्रालयले शुक्रबार बेलुका सरुवा गरेको हो ।
डिआईजी सरुवामा यसपटक पनि विगतमा झै निकै चलखेल भयो । केही डिआईजीहरु सात महिनामै हटाइएका छन् भने केहीलाई दोस्रोपटक प्रदेश प्रमुख बनाइएको छ ।


सातै प्रदेशका प्रहरी हेरफेर भएको सरुवामा प्रदेश नम्बर १ मा ठाकुर ज्ञवाली र दुईमा प्रद्युम्न कार्कीको सरुवालाई राम्रो मानिएको छ । प्रदेश नम्बर ३ मा शेरबहादुर बस्नेतलाई खटाइएको छ । प्रदेश नम्बर पाँचमा हुँदा राम्रो काम गर्न नसकेको भन्दै गृहमन्त्रालयले केही महिनामै उनलाई हटाएर पिताम्बर अधिकारीलाई खटाएको थियो । उनै बस्नेतलाई अहिले प्रदेश नम्बर ३ को जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार सुरुमा उनको नाम सुदुरपश्चिम प्रदेशमा थियो । तर, प्रधानमन्त्री निकट नेताहरुमार्फत उनले आफ्नो नाम तीन नम्बर प्रदेशमा पारेका हुन् । गृहको सूचिमा तीन नम्बरमा मनोज न्यौपानेको नाम थियो ।

उता कार्यक्षमतामा निकै कमजोर डिआईजी बिनोद शर्मा घिमिरेलाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ । आईजीपीसँगै अवकाश पाउन लागेका सुरेशबिक्रम शाह प्रदेश नम्बर पाँच तथा पूर्णचन्द्र जोशीलाई कर्णाली प्रदेशमा खटाएको छ । अवकाश हुने बेला कमाउने मौकास्वरुप उनीहरुलाई प्रदेशमा खटाइएको चर्चा गरिएको छ । राम्रा अधिकृतका रुपमा चिनिने तारिणी लम्साल सुदूरपश्चिम प्रदेशमा धकेलिएका छन् । प्रदेश नम्बर २ का डिआईजी हरि पाल, प्रदेश नम्बर पाँचका पिताम्बर अधिकारी, कर्णाली प्रदेशका महेशबिक्रम शाह आठ महिना पनि नपुग्दै फेरिएका छन् । सबै डिआईजीलाई प्रदेश इन्चार्ज बनाएर कमाउने अवसर दिने गृहको सोचाईअनुसार यसरी छोटो अवधिमै डिआईजीको सरुवा भएको चर्चा प्रहरीमा छ ।

प्रदेश २ नै मागेका डिआईजी सूर्यप्रसाद उपाध्यायलाई अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखका रुपमा सरुवा गरिएको छ । विमानस्थल प्रहरी महानगरीय प्रहरी कार्यालय मातहतको कार्यालय हो । जहाँ उपाध्याय भन्दा एक ब्याच जुनियर डिआईजी शैलेश थापाले कमाण्ड गरिरहेका छन् । डिआईजी उपाध्याय २०४७ साल असार २५ का भर्ना हुन् भने डिआईजी थापा २०४९ साल बैशाख १९ का भर्ना हुन् । जसअनुसार विमानस्थलमा प्रमुखका रुपमा उनी जुनियर डिआईजीको कमाण्डमा खटिनुपर्ने हुन्छ । इन्चार्ज पाएकाले उनी जुनियरकै कमाण्डमा खटिन तयार हुन्छन् कि हुँदैनन् अर्काे महत्वपूर्ण विषय छ । यस्तै समस्यापछि यसअघि शेरबहादुर बस्नेत त्यहाँबाट सुरक्षा परिषद्मा सरुवा मागेर गएका थिए । त्यसयता एसएसपीको कमाण्डमा विमानस्थल चलेको छ । विमानस्थलमा एसएसपीलाई नै खटाउने निर्णय गरिएको बताइए पनि डिआईजीलाई भाग पु¥याउन फेरि डिआईजी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्