Logo
Logo
स्थानीय तह निर्वाचन

गायकदेखि पुराना नेतासम्म गाउँप्रमुखका आकांक्षी



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको हो ।

संघीय व्यवस्थाअनुसार दोस्रोपटक हुन गइरहेको स्थानीय निर्वाचनका लागि राजनीतिक दलका नेताले उम्मेदवार बन्न दौडधुप सुरु गरेका छन् ।

यसैबीच खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ भन्ने चर्चा हुन थालेको छ । स्थानीय तह निर्वाचनका लागि खोटाङमा राजनीतिक दलहरूले उम्मेदवार छान्न सुरु नगरे पनि सम्भावित उम्मेदवारको चर्चा सुरु भएको हो ।

खासगरी प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कसलाई टिकट दिले भन्ने सवालमा चर्चा हुने गरेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेता कार्यकर्ता यतिबेला गाउँघरमा भेटिन्छन् । नेताहरु चुनावी प्रचार प्रसारका लागि मत सर्वेक्षणदेखि कार्यकर्ता प्रशिक्षणमा व्यस्त देखिन्छन् ।

माओवादीका को–को चर्चामा ?
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुखका लागि माओेवादी केन्द्रबाट दीपक पाण्डे ‘आकाश’, गोपालचन्द्र राई, राजेन्द्र राई, किसान राई, अजम्बर राई, रुपकुमार राई, नरेन्द्र निर्विकार, गगन राई र लक्ष्मीकुमार राई चर्चामा छन् । दीपक पाण्डे अघिल्लो निर्वाचनका पराजित उम्मेदवार हुन् ।

यसपालि पनि उनले आफैँ उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् । ‘हामी अहिले स्थानीय तह निर्वाचनका लागि चुनावी प्रचार अभियानमा छौँ । मत सर्वेक्षण गरिरहेका छौँ । कार्यकर्तालाई प्रशिक्षण पनि दिँदैछौँ’, दृष्टि न्युजसँग कुरा गर्दै उनले भने, ‘आधिकारिक रुपमा उम्मेदवार घोषणा गर्न त बाँकी नै छ तर, उम्मेदवार चर्चाको कुरा गर्नु हुन्छ भने म आफैँ पनि उम्मेदवार बन्न सक्छु । यतिबेला सुतेको मान्छे उठ्ने बेला हो । त्यसकारण सबैले आ–आफ्नो दावेदारी रहेको चर्चा गर्लान् । पार्टीको तर्फबाट कसलाई उठाउने भनेर आन्तरिक तयारी गरिहेका छौँ ।’

त्यस्तै, माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समितिका सदस्य समेत रहेका गोपाल चन्द्र राई पनि बलियो दादेवार हुन् । उनी अघिल्लो निर्वाचनमा उम्मेदवार नबने पनि पार्टी संगठनलाई माथि उठाउने भूमिकामा अग्रपंक्तिमा देखिएका थिए । यसपालि भने दिप्रुङ गाउँपालिका प्रमुखका लागि उनले उम्मेदवारी दिनसक्ने धेरैले अड्कल गरेका छन् ।

‘मलाई पार्टीले उम्मेदवार बनाए पछि हट्दिनँ । तयारी गरिरहेको छु । म पेशागतरुपमा जहाँ भए पनि पार्टी संगठन निर्माण र जनताका लागि सधैँ गाउँघर, घरदैलोमा आइरहन्छु । यसकारण म उम्मेदवार बने भने पनि यहाँका जनताले मलाई निश्चितरुपमा जिताउनु हुनेछ’, उनले भने ।

यस्तै अजम्बर राई गाउँपालिकामा पार्टी संगठनमा लागेका पुराना व्यक्ति हुन् । यस अघिको निर्वाचनमा पनि दावेदारी प्रस्तुत गरेका उनलाई पार्टीले टिकट भने दिएन । तर, यसपालि पनि उनी प्रमुखका लागि उम्मेदवार हुनसक्ने सम्भावना छ । उनी आफँै भने वडा नम्बर तीनको वडाध्यक्षका लागि तयारी गरिरहेको बताउँछन् ।

‘अहिले हामीले कसलाई उठाउने भनेर छलफलमा छौँ सबैले आ-आफ्नोतर्फबाट तयारी गरिहेका छन् । म गाउँपालिका प्रमुखका लागि उम्मेदवार नभए पनि वडाअध्यक्षका लागि भने तयारी गरिहेको छु’, उनले भने ।

व्यवसायसँगै राजनीतिमा होमिएका युवा नेता किसान राई, गायक रुपकुमार राई लगायत पनि माओवादीबाट गाउँपालिका प्रमुखका दावेदार हुन् ।

कांग्रेसका को–को चर्चामा ?
त्यस्तै, नेपाली कांग्रेसबाट पालिका प्रमुखका लागि भूपेन्द्र राई, सपना राई, बसन्त राई, केशव कार्की, शम्भु कार्की, शरण कुमार राई, पूर्णबहादुर खड्का, नइन्द्र राई, गणेश थापा र सरिता आङ्देम्बे (राई) चर्चामा छन् ।

भूपेन्द्र हालका पालिका प्रमुख हुन् भने सपना उपप्रमुख हुन् । भूपेद्रले यो पटक पनि उम्मेदवारी दिन सक्ने सम्भावना रहेको बुझिन्छ । त्यस्तै सपनालाई पार्टीले टिकट दिन सक्ने सम्भावना बलियो रहेको कांग्रेसनिकट स्थानीय नेताहरु बताउँछन् ।

पालिकामा कांग्रेसको दुई धार देखिएको छ । जिल्ला सभापति विष्णु राई र पालिका प्रमुख भूपेन्द्र राई दुई धारमा देखिएका हुन् । यदि, पार्टीले कमजोर व्यक्तिलाई टिकट दिए भूपेन्द्र आफू स्वयम उठ्ने तयारीमा रहेको उनी निकट स्थानीय नेता बताउँछन् ।

‘पार्टीले सबैलाई तयारीका लागि जुट्नु भनेको छ । हामी अहिले चुनावी अभियानमा छौँ । यदि पार्टीले मलाई प्रमुखका लागि उम्मेदवार बनाए म तयार छु’, सपनाले भनिन् ।

त्यस्तै, शिक्षण पेशाबाट राजनीतिमा होमिएका बसन्त राई पनि यसअघिको निर्वाचनमा दावेदार थिए । तर, पार्टीले उनलाई टिकट दिएन । यसपटक पनि उनले आफूलाई दावेदारको रुपमा उभ्याएका छन् । उनले खुलेर नभने पनि प्रमुखका लागि आफ्नो दावी रहेको संकेत गरेका छन् । तर, पार्टीले जसलाई उठाए पनि आफूलाई स्वीकार्य हुने उनी बताउँछन् ।

जनताको मर्म र भावनालाई बुझ्ने जनतासँग भिज्नसक्ने व्यक्ति उम्मेदवार बन्ने कांग्रेस जिल्ला सभापति बिष्णु राईले बताए ।

‘हामी अहिले आन्तरिक छलफल छौँ । जनतासँग भिज्न सक्ने यस पालिकालाई विकास गर्ने, सबैलाई समेटेर लैजाने सक्ने क्षमता भएको र पार्टीको विचारलाई आत्मसाथ गर्दै लान सक्ने सक्षम उम्मेदवार छान्नेछौँ’, उनले भने ।

एमालेका को–को चर्चामा ?
त्यस्तै नेकपा एमालेबाट राप्रसाद दंगाल, राजकुमार राई, लोकेन्द्र राई, इन्द्र प्रसाद दंगाल, शिवराज राई, चर्च बहादुर विश्वकर्मा र धनकुमार राई पालिका प्रमुखको उम्मेदवारको रुपमा चर्चामा छन् ।

जिल्ला अध्यक्षसमेत रहेका रामप्रसाद दंगलले पार्टीबाट बलियो उम्मेदवार नभेटिए आफैँ उम्मेदवारी दिनसक्ने एमालेनिकट नेताहरु बताउँछन् ।

पालिकामा एमालेबाट अर्का सम्भावित उम्मेदवार बतासे-४ का वडाअध्यक्ष समेत रहेका लोकेन्द्र राईले पनि तयारी गरेका छन् ।

‘यो पटक पालिका प्रमुखका लागि उम्मेदवारी बन्ने इच्छा रहेको छ । तर, पार्टीले कसलाई टिकट दिन्छ त्यो अहिले भन्न सकिन्न,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको निर्णय कस्तो बन्छ त्यो अनुसार हामी सैद्धान्तिक र रणनीतिक निर्णय लिनेछौँ ।’

एमाले अध्यक्ष दंगाल विपक्षी दलहरुको उम्मेदवार अनुसार आफ्नो पार्टीले उम्मेदवार घोषणा गर्ने बताउँछन् । ‘यदि कांग्रेसबाट विष्णु राई उठ्नुभयो भने म पनि उठ्न सक्छु । कांग्रेसले बिष्णु राईलाई उठायो भने अरुले भिड्न सक्दैनन्’ उनले भने, ‘विपक्षी दलले कस्तो उम्मेदवार बनाउँछ त्यहि अनुसार हामी पनि उम्मेदवार घोषणा गर्छौँ ।’

अन्य दलका को–को चर्चामा ?
एकीकृत समाजवादीबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुखका लागि नरेश राई, अम्बिका राई, दशरथ राईलगायत चर्चामा छन् । त्यस्तै संघीय समाजवादीबाट सूर्यकुमार राईलगायतको चर्चा छ ।

पार्टीको जिला उपाध्यक्ष समेत रहेका नरेश राईले प्रमुखका लागि आफ्नो तयारी भइरहेको बताएका छन् । ‘गठबन्धनलाई मध्यनजर गर्दै अन्य दलसँग सहकार्य गरेर जाने मेरो तयारी छ ।’ उनले भने ।

स्थानीय तहको निर्वाचन नजिकएसँगै यतिबेला नेताहरु जनताको घरदैलो चहारिरहेका छन् । चुनावी प्रचार प्रसारका लागि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरु अहिले व्यस्त हुन थालेका छन् ।

विशेषगरी केन्द्रमा गठबन्धन कस्तो बन्ला भन्ने विषयले पनि यस गाउँपालिकामा पार्टीले कस्तो र कसलाई उम्मेदवार बनाउलान् भन्ने पर्खाइमा रहेको बुझिन्छ । यदि केन्द्रमा सत्तारुढ दलबीच गठबन्धन बन्यो भने त्यहि अनुसार यस गाउँपालिकामा पनि विपक्षी दल एमाले र अन्य दलहरुले उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्