Logo
Logo
साहित्य

च्याम्पटी



त्रिमूर्ति प्रजातन्त्रमा
च्याम्पटीको खोजी हुन्छ
पाँच मुखेको होइन
चार मुखेको
बाहिरियाले घोट्छन्
चारै मुखमा सिसा कोच्छन्
तयार पर्दछन् च्याम्पटी लडाउन
चिल्लो बाँसको टोक्रामा
अन्तको हातहरूले घुमाउँछन्
जुन कोणबाट छोडिदियो
जति निमोठेर छोडिदियो
त्यति वेगबाट, त्यति तागतमा
यी च्याम्पटीहरु अखडामा घुम्छन्
लड्न पुग्छन्, भिड्न पुग्छन्

यी च्याम्पटीहरु–
जो मुक्तिदाता बनेका छन् हाम्रो
आखिरी च्याम्पटी म्याच गर्दैछन्
हिजो बट्टाई लडाउँथे घरकाले
त्यो त घरको थियो
आज च्याम्पटी लडाउँदै छन् अन्तकाले
यो बाहिरको भयो

खेल चालु छ
बालुवाटारदेखि बानेश्वरसम्म
कहिलेकाहीँ माइतीघर मण्डला
अभिव्यंजनात्मक छ यो खेल
साँघुरिएको नेपालमा ।

प्रतिक्रिया दिनुहोस्