Logo
Logo

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह


189
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतीय व्यापारिक समुदायसँगको अन्तरक्रियामा नेपालमा भारतीय लगानी बढाउन र भारततर्फको निर्यात सहजीकरणका लागि सरकार सकारात्मक रहेको बताए ।

उनले भारतले २१औँ शताब्दीको आर्थिक विकासमा फड्को मार्दै गरेको हुँदा नेपालमा लगानी गर्न र दुई देशबीचको आर्थिक सम्बन्ध अझ विस्तार गर्ने सम्भावना प्रशस्त रहेको बताए ।

कोभिड मारामारीका कारण आम जनजीवन र अर्थतन्त्र नराम्ररी प्रभावित बनेको अवस्थामा विदेशी लगानीलाई आकर्षित गर्न सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भ्रमणका क्रममा भएका विभिन्न सम्झौताले विद्युत् आदानप्रदान र रेल सेवा सञ्चालनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नेपालमा ठूला जलविद्युत् आयोजनाको निर्माण गरी भारतलगायत छिमेकी मुलुकमा ऊर्जा व्यापार गर्न सकिने सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कन्फिडरेसन अफ इण्डियन इन्डिष्टिज (सिआइआइ)ले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायत सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउनुभयो । पछिल्ला वर्षमा भारतीय लगानी घटिरहेको सन्दर्भमा यसलाई बढाउन नेपाली निजी क्षेत्रले सहजीकरण गर्ने बताए ।

सो अवसरमा सिआइआइका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको र नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानीका लागि भइरहेका प्रयासबारे जानकारी गराए ।

कार्यक्रममा करिब ३० भारतीय बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको थियो भने विभिन्न करिब १५ कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नेपालमा लगानीका सम्भावनाबारे चासो र अनुभव प्रस्तुत गरेका थिए ।

यसैबीच महासङ्घ र सिआइआइका पदाधिकारीबीच सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल भारत लगानी एवं व्यापार सहजीकरणका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्