काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि समिति गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ । समितिका सदस्यहरुको नाम भने सार्वजनिक हुन बाँकी छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ गरेका थिए । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष पनि निकालेको छ ।














