Logo
Logo

मधेस प्रदेशमा डीआइजीको असुली आतंक



वीरगञ्ज । नेपालसँग सीमा जोडिएका २१ वटा जिल्ला छन् । तीमध्ये पर्साबाट सबैभन्दा बढी सामान आयात हुने गर्छ । पर्सा र बाराको सीमा क्षेत्रमा नेपाल प्रहरी वा सशस्त्रका वर्षौवर्षसम्म काम गर्ने प्रहरीका जुनियर अधिकृत र तल्लो दर्जाका सादा पोशाकमा परिचालित (घुमुवा) प्रहरीले गर्दा भन्सार छली बढेको छ ।

डीआइजी उमेश रंजितकार र सई सागर राणा

यस्तै, पर्सा र बारामा वर्षौदेखि कार्यरत नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हुन् सागर राणा । प्रहरीमा असईमा सेवा प्रवेश गरेदेखिकै ट्रयाक रेकर्ड हेर्ने हो भने राणा पर्सा र बारामै मात्र कार्यरत छन् । राणा तत्कालीन मध्यमाञ्चल, २ नम्बर प्रदेश हुँदै हाल मधेस प्रदेशका डीआइजीदेखि पर्सा र बाराका इन्चार्जलाई नै प्रभावमा राख्ने हैसियत राख्दै आएका छन् । अहिलेसम्मका जति पनि डीआइजी आए, उनीहरू सबैको प्रियपात्र हुने खुबी राणामा रहेको छ । भन्सार छली गर्नेहरूसँग कनेक्सन भएकाले उनी तस्करहरूबाट जति पनि रकम उठाउन सक्ने हैसियत राख्दछन् । डीआइजीसम्म पहुँच राख्न सक्ने भएकाले उनले लगातार आफूले भनेको र इच्छाएको नाका र घुमुवा इन्चार्जमा नै बस्दै आएका छ्न् । असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका सागर राणा हालै वरिष्ठ सई भइसक्दा पनि बारा, पर्सा बाहेक अन्य जिल्लामा खटिएका छैनन् ।

प्रहरी संगठनका उच्च ओहदाका हाकिमकै आशीर्वाद उनीमाथि रहेको छ भन्ने कुरा राणाको बढुवा प्रहरी वरिष्ठ नायव निरीक्षमा हुनु र विगत पाँच वर्ष भन्दा बढी समयदेखि बाराको जितपुर इलाका इन्चार्ज, त्यसपछि अमलेखगञ्ज इलाका इन्चार्ज, फेरि जितपुर इलाका इन्चार्ज भएबाट पनि थाहा हुन्छ । त्यसपछि भारतबाट बढी तस्करी हुने बारा र पर्साको सीमा रहेको बाराको प्रहरी चौकी मुसहर्वा बलिरामपुर नाकामा बसेका राणाले २५ गतेको बढुवापछि बारामै दरबन्दी कायम गराई पदस्थापन गराउन सफल भएका छन् ।

प्रहरीमा जागिर खाएदेखि नै दरबन्दी जुनसुकै जिल्लामा भए पनि बारा–पर्साको घुमुवा र नाकामा नै बस्दै आएका राणा बाराको सिमरामै करोडौंं मूल्यको घर र जग्गा जोड्न सफल भएको उनलाई चिन्ने जुनियर प्रहरी अधिकृत बताउँछन् । सागर राणाले आफैं तस्कर र ब्यापारीसँग रकम असुल्दैनन् । उनले सहयोगीमार्फत् रकम उठाएर नेपाल प्रहरीका उच्च पदाधिकारीकहाँ पु¥याउने गरेका छन् ।

अहिले सागरले काठमाडौंमा दरबन्दी भएका प्रहरी हवल्दार राजु गुप्तालाई परिचालन गरेर बारा र पर्साबाट महिनाको करोडौं रकम असुली गराउँदै आएको आरोप छ । दसौँ वर्षदेखि बारा र पर्सामा मात्रै कार्यरत भएकाले तस्करी गर्ने समूहका बारेमा एक एक जानकारी भएका राणाले सबै सेटिङ मिलाउने र गुप्तामार्फत् लेनदेन गर्ने गरेको आरोप छ ।

त्यसैगरी अर्का भाग्यमानी रहेका छन्, सई राधा मोहन कुशवाहा । प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनलाई नै बदनाम गराएको आरोपमा दुई वर्ष पहिला कुशवाहालाई खोटाङ सरुवा गरेको थियो । तत्कालीन आईजीपी ठाकुर ज्ञवालीसँग कुशवाहाको राम्रो सम्बन्ध रहेकोले खोटाङ जानै परेन । उनले कुशवाहालाई बारामै काज गरिदिए । त्यो बेलादेखि कुशवाहा अमलेखगञ्ज इलाकाको इन्चार्ज, प्रहरी चौकी पथलैयामा इन्चार्ज र जिल्ला प्रहरी कार्यालय बारा र खोटाङ हुँदै कुशवाहाले महोत्तरी सरुवा गराउन सफल भएका थिए । कुशवाहा तिनै हुन्, जसले आफ्नो जिल्लादेखि हेडक्वाटरसम्मको हाकिमलाई खुशी बनाई दोस्रो पटक पुनः पथलैयामै पाँच महिनादेखि इन्चार्ज बन्न सफल भएका छन् । यी दुई नेपाल प्रहरीका सईहरूलाई बारा र पर्सा बाहेक जो आईजीपी भए पनि पठाएको पाइँदैन । प्रहरी संगठनका वरिष्ठ अधिकृतहरूले नै भन्दै हिंडेका छ्न् कि राणा र कुशवाहाको जस्तो जागिर नेपाल प्रहरीमा कमैले खाएका छ्न् ।

मधेस प्रदेशका डीआइजी उमेश रंजितकारको असुलीले सीमा नाघेको छ । आइजीपी शैलेश थापा क्षेत्रीसँगै आगामी २०७९ बैशाख १९ गते अवकाश हुन लागेका डीआइजी रंजितकारले मधेस प्रदेशका ८ वटै जिल्लामा घुमुवा परिचालन गरी घुस असुली गरेको आरोप छ । डीआइजीको नाममा ८ वटै जिल्लामा घुमुवामार्फत् दररेट तय गरी मासिक घुस संकलन गर्ने गरेको आरोप छ । पर्साबाट ३५ लाख, धनुषा ३० लाख, बारा २५ लाख, महोत्तरी २५ लाख, रौतहट २५ लाख, सर्लाहीबाट २० लाख र सप्तरीबाट २० र सिरहाबाट १५ लाख दस्तुरी तोकिएको चर्चा प्रहरीमा छ । घरेलु मदिरा र जुवाको छुट्टै लिने गरिएको स्रोतको दाबी छ । मासिक रकम संकलनका लागि घुमुवाको टीम नै प्रदेश कार्यालयबाट परिचालन गरिएको छ ।

पर्सामा हवल्दार राजु गुप्ता, बारामा जवान संजय जैसवाल, रौतहटमा हवल्दार राजमंगल सिंह, सर्लाहीमा असई लालजी यादवलाई परिचालन गरिएको छ । यो टोलीलाई सहयोग गर्नका लागि हवल्दार विनोद राम र जवान मन्जित यादवलाई खटाइएको छ । यी घुमुवामध्ये गुप्ताको दरबन्दी काठमाडौं हो भने संजय जैसवालको महोत्तरीमा छ । राजंगल सिंह र लालजी यादवको रौतहटमा दरबन्दी छ ।

डीआइजी रंजितकारले मधेस प्रदेशमा गरेको असुली आतंकका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिनमा ३ वटासम्म उजुृरी पर्ने गरेका छन् । अख्तियारको हेटौंडा कार्यालयमा जति उजुरी पर्दा पनि सुनुवाइ नभएपछि केन्द्रीय कार्यालय टंगालमा समेत थुप्रै उजुरी परेका छन् । तर, उनीमाथि छानबिन हुन नसक्दा मधेस प्रदेशमा तस्करी चम्केको छ ।

प्रस्तुत समाचारमा खण्डन प्राप्त भएकाले प्रकाशन गरिएको छ । –सम्पादक

मितिः २०७८/१२/३०

श्रीमान्, सम्पादकज्यू
दृष्टि न्युज
नक्साल, काठमाडौ

विषयः खण्डन सम्बन्धमा

महोदय,
काठमाडौबाट सञ्चालन हुने दृष्टिन्यूज डटमको मिति २०७८ चैत २९ गते ‘मधेस प्रदेशमा डीआइजीको असुली आतंक’ शीर्षकमा लेखिएको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु । उक्त समाचारले मेरो व्यवसायीक, पारिवारिक तथा सामाजिक चरित्र हत्या गरेको छ । ‘डीआइजीको असुली आतंक’ शीर्षकमा लेखिएको समाचारमा म उजुरीकर्ता वरिष्ट प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाको सामाजिक सञ्जालबाट बिना अनुमति तस्बिर निकालेर प्रकाशन गरिएको छ ।
यसैगरि ‘प्रहरीमा जागिर खाएदेखि नै दरबन्दी जुनसुकै जिल्लामा भएपनि बारा पर्साको घुमुवा र नाकामा नै बस्दै आएको’ भनि समाचार लेखिएको छ । जबकि यर्थातमा म आजसम्म कहिले पनि घुमुवा बसेको छैन् । यदि बसेको छु भने प्रमाणित गर्न अनुरोध गर्दछु ।

समाचारमै अगाडि लेखिएको छ– ‘भन्सार छली गर्नेहरुसँग कनेक्सन भएकाले उनी तस्करहरुबाट जति पनि रकम उठाउन सक्ने हैसियत राख्दछन् ।’ भन्सार छली गर्ने कोसंग मेरो कनेक्शन छ ? र मैले को सँग रकम उठाएको छु ? यो कुरा तथ्यले प्रमाणित गर्नुपर्यो । समाचारमा मैले सिमरामा घर बनाएको आएको छ के मैले घर बनाउन नहुने हो र ? मैले गलत कमाइले घर बनाएको हो भने प्रमाणीत गर्नु पर्यो ? समाचारमा मेरो प्रतिक्रिया समेत राखिएको छैन् । सत्य तथ्य बुझि समाचार सम्प्रेषण गर्नुपर्नेमा प्रेस काउन्सिल ऐन, २०४८, पत्रकार आचारसंहिता, २०७३ लगायत अन्य प्रचलित कानुनको विपरित हुने गरि मेरो मानहानी हुने गरि समाचार प्रकाशन गर्ने उपर हदैसम्मको कारवाही गरी पाउ । समाचार खण्डन गरिदिन हुन यो निवेदन समेत पेश गरेको छु ।

सागर सम्शेर राणा
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिप्रका वारा, कलैया

प्रतिक्रिया दिनुहोस्