Logo
Logo

गैंडा काण्डमा मुछिए एसपी



काठमाडौं । गलत संगतका कारण नेपाल प्रहरीका कतिपय प्रहरी अधिकारीहरू ठूलो संकटमा पर्ने मात्र होइन जेलसमेत पुगेका छन् । सुन तस्करीमा संलग्न चुणमणी उप्रेती ‘गोरे’सँगको संगतले केही प्रहरी अधिकारी जेलैसम्म पुगेका थिए । गुन्डागर्दीमा संलग्न व्यक्तिहरूसँग टाढा हुन नसक्दा केही प्रहरी अधिकारी अहिले पनि मुद्दा खेपिरहेका छन् ।

त्यस्तै, नेपाल प्रहरीका अर्का एक अधिकृतको पनि गलत संगतकै कारण हालै ठूलो संकटमा परेका थिए । तर, दबाबका कारण विस्तृत अनुसन्धान नहुँदा ती अधिकृतको जागिर जोगिएको हो ।

चितवनमा गैंडा मारेर खाग तस्करी गर्ने गिरोहसँग एसपी दानबहादुर मल्लको कनेक्सन भेटिएको छ । खाग तस्करीमा संलग्न १४ जनालाई प्रहरी र चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा गिरोहका नाइकेसँग एसपी मल्लको घनिष्ठता खुलेको थियो । तर, त्यसतर्फ विस्तृत अनुसन्धान नभएकाले गिरोहका सदस्यसँग उनको सम्बन्ध कुन प्रकारको हो भन्ने खुल्न नसकेको स्रोत बताउँछ । प्रारम्भिक अनुसन्धानमा भने गिरोह नाइकेसँग उनको निकै घनिष्टता देखिएको थियो ।

मुगुका नांगे तामाङ, योन्देन ग्याम्जे तथा तनहुँका हरिबहादुर मगर गैंडाकोटका गोपाल सारु लगायतको समूहसँग उच्च प्रहरी अधिकारीकै संलग्नता देखिएको हो । सो समूहले गैडाको खाग तथा खुर तिब्बत तस्करी गर्दै आएको थियो । तर, चीनबाट सुन तस्करीमा पनि उनीहरू सक्रिय रहेको स्रोत बताउँछ । उनीहरूले यस्तै धन्दाबाट करोडौं सम्पत्ति जोडेपनि सम्पत्ति छानबिनमा भने चासो दिइएको छैन ।

एसपी मल्ल शक्तिकेन्द्रको आडमा आकर्षक पोष्टिङ पाउँदै आएका अधिकृत हुन् । डिएसपी हुँदा दरबारमार्ग वृत्त बसेका उनी एसपीमा चितवनका इन्चार्ज थिए । आर्थिक मामिलामा कमजोर रहेका एसपी मल्लको गलत धन्दामा संलग्न व्यक्तिहरूसँग समेत दोस्ती रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्