Logo
Logo

गृहमन्त्रीका बिचौलिया सल्बलाए ?



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासन नै नबुझेका सचिव टेकेनारायण पाण्डेलाई ल्याउनुको भेद खुल्दैछ । उनले गृह मन्त्रालयले गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरीको सरुवामा चलखेल गर्नकै लागि शिक्षा समूहमा जागिर खाएका पाण्डेलाई ल्याएपछि सरुवामा व्यापक चलखेल भएको स्रोतले बताएको छ । प्रहरी सरुवा, बढुवामा भएको चलखेलको पार्टीभित्रै बिरोध हुन थालेपछि गृहमन्त्री खाणले विगत ३ महिनादेखि पार्टीकै तीन नेतालाई सरुवाको लागि बिचौलियाका रुपमा राखेको विषय नेपाली कांग्रेसभित्रै उठेको छ ।

रामहरि खतिवडा र महेन्द्र यादव

स्रोतका अनुसार, खाणले सरुवाको डील गर्ने जिम्मा ओखलढुंगाका रामहरि खतिवडा, धनुषाका महेन्द्र यादव र गोरखाका सुरेन्द्र पाण्डेलाई दिएका छन् । तीनैजना कांग्रेसका केन्द्रीय सदस्य भएकाले गृहमन्त्री खाणले भेट्नुलाई सामान्य रुपमा लिइने गरिन्छ । तर, यी तीनमध्ये सरुवाको डिल गर्नेमा खतिवडा र यादव अग्रपंक्तिमा पर्छन् । सरुवाको डिलमा गृहमन्त्रीका अलावा यी तीनै नेताले आफ्नो आर्थिक बैभव पनि समुन्नत बनाएको स्रोतको दाबी छ ।

प्रजिअ र जिल्लाको प्रहरी प्रमुख हुनका लागि खतिवडासहितका यी तीन नेतालाई भेटेर कुरा मिलाएपछि काम सहजै हुने गरेको छ । खतिवडा त गृहमन्त्री खाणसँग राजधानी काठमाडौंमात्र होइन, हरेक जिल्लाका कार्यक्रममा पनि सँगै जाने र तस्वीर खिचेर आफ्नो पहुँच देखाउने गर्दछन् । त्यही भएकाले गृहका उपसचिव र सहसचिवको लाइन खतिवडाकोमा बढी लाग्ने गरेको छ ।

खतिवडाले कांग्रेसभित्र कार्यकर्तालाई देखाउन घट्टेकुलोमा सामान्य डेरा लिएका छन् । तर, ज्ञानेश्वरमा ७ आनामा बनेको भब्य बंगला भाडामा दिने नेताका रुपमा उनी चिनिन्छन् । उनले झापामा किशोर सिलवालसँग मिलेर क्यासिनोमा पनि लगानी गरेका छन् भने, उनको गोवामा समेत क्यासिनो रहेको कांग्रेसवृत्तमा चर्चा हुने गरेको छ । २०७० मा सांसद भएपछि सार्वजनिक लेखा समितिको सदस्य हुँदा एनसेलको लाभकरको विषयमा पनि चर्को स्वरमा बिरोध गरी लाभ लिएको आरोप छ ।

महेन्द्र यादवले विमलेन्द्र निधिलाई चटक्कै छाडेर खाणसँग लागेपछि गृह प्रशासनमा उनले चलखेल गर्ने मौका पाएका छन् । उनले केही दिनअघि भएको एसपी सरुवामा कृष्ण पँगेनीलाई महोत्तरीमा लगेबापत शुभलाभ लिएको सूचना बालुवाटारमा पनि पुगेको छ । महोत्तरीमा एसपी बनाएबापत २५ लाखकै खेल भएको स्रोतको दाबी छ । महेन्द्र यादव नेपालको प्रतिनिधिसभा सदस्य भएर पनि भारतमा जीवनविमा गर्नेमा पर्दछन् । उनले भारतमा ५० लाखभन्दा बढीको बीमा गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्