Logo
Logo

प्रहरीमा डिआइजीका लागि अझै दौडधुप



काठमाडौं । चुनावको मुखमा प्रदेश प्रहरी कार्यालयहरू नेतृत्वविहिन बन्न पुगेका छन् । अवकाशको मुखमा रहेका डिआइजीहरूलाई प्रदेशमा खटाउँदा यस्तो अवस्था आएको हो, जसले गर्दा चुनावी सुरक्षा नै प्रभावित हुने जोखिम देखिएको छ ।

आगामी १८ वैशाखमा अवकाश हुन लागेका पाँच डिआइजी हाल प्रदेश प्रहरी इन्चार्ज छन् । मधेस प्रदेशका डिआइजी उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेश ऐर तथा सुदुरपश्चिमका पुरुषोत्तम कँडेलले १८ वैशाखदेखि अवकाश पाउँदैछन् । अवकाशको मुखमा उनीहरू लामो बिदामा बसेका छन् । एआइजी प्रद्युम्न कार्कीसहित आइजीपी शैलेश थापा क्षेत्रीका ब्याचका डिआईजीहरू बिदामा बसेका हुन् । उनीहरूमध्ये प्रकाशजंग कार्की त एआइजी बढुवाविरुद्ध मुद्दा लडिरहेका छन् । एआइजी बढुवालाई चुनौती दिएका घनश्याम अर्याल र ईश्वरबाबु कार्की पनि बिदामै छन् ।

प्रदेशमा पठाउने डिआइजी नै नहुँदा पनि यतिबेला प्रदेश प्रहरी कार्यालयहरू निमित्तको भरमा चलेका छन् । सरकारले डिआइजी बढुवाका दाबेदार एसएसपीलाई निमित्त प्रदेश इन्चार्ज दिएर पठाउनेबारे छलफल गरेपनि त्यसमा सहमति हुन सकेको छैन । अर्काेतर्फ डिआइजी बढुवा पनि अन्योलमा परेको छ ।

डिआइजीका तीन पद रिक्त रहेपनि कसलाई बढुवा गर्ने भन्ने सहमति हुन नसक्दा बढुवा हुन सकेन । रिक्त पदमा सिनियर टोलीबाट नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी, मसाउँद आलम खाँ र प्रदीपकुमार श्रेष्ठमध्ये तीन जनालाई बढुवा गर्ने प्रक्रिया अघि बढेको थियो । तर, जुनियर टोलीका एसएसपीहरूले आफ्नो दौडधुप तिव्र बनाएपछि बढुवा हुन नसकेको स्रोत बताउँछ ।

नयाँ टोलीबाट सन्दीप भण्डारी, उमेशराज जोशी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, किरण बज्राचार्य, बसन्त कुँवर, विष्णु केसीलगायत बढुवाका प्रमुख दाबेदार छन् । उनीहरूमध्येलाई नै निमित्त प्रदेश प्रखुमको जिम्मेवारीमा प्रदेश पठाउनेबारे छलफल भएको छ । त्यसरी पठाउँदा पनि क–कसलाई पठाउने भन्ने टुंगो लाग्न सकेको छैन । कामु डिआइजीको रुपमा उनीहरूलाई प्रदेश पठाउनेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ ।

उता, एआइजी कार्कीले फौजी संस्कृतिअनुसार अवकाशको मुखमा बिदा लिएपनि अन्य एआइजीले भने लोभ देखाएका छन् । आइजीपी क्षेत्रीसँगै अवकाश पाउन लागेका एआइजीद्वय हरिबहादुर पाल र निरज शाही भने बिदामा बसेनन् । प्रहरी महानिरीक्षकसहितका अधिकारी अवकाशको एक महिनाअघि बिदा बसेर नयाँ टोलीलाई अघि बढाउने संस्कृति भएपनि संगठनमा यस्तो प्रचलन घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्