Logo
Logo

दुई करोडपति सुब्बा अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० असार ।
लामो समय भन्सार कार्यालयमा काम गरेका नायब सुब्बा रामप्रसाद भट्टराईसँग दुई करोडभन्दा धेरै अकुत सम्पत्ति भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । अख्तियारले सोमबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । पछिल्लो समय कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा भट्टराईको दुई करोड आठ हजार पाँच सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सरकारी जागिरमा जोडिएपछि उनले एक करोड १४ लाख ९१ हजार एक सय ५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग तीन करोड १४ लाख ९९ हजार हजार ६ सय ९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरी मुद्दा
अकुत सम्पत्ति जफत गरी सोही बराबरको जरिवाना र कैद सजाय माग गरी आयोगले मुद्दा दायर गरेको हो । नासु भट्टराईलाई गत वर्ष २९ साउनमा आयोगको टोलीले १० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । भारत वनबासाबाट व्यापारिक प्रयोजनका मालवस्तु क्यारिङ गर्दा भन्सार शुल्कमा सहुलियत प्रदान गर्ने भन्दै उनले घुस लिएका थिए । उनीसँग अकुत सम्पत्ति रहेको सूचना पाएपछि आयोगले त्यससम्बन्धी छुट्टै छानबिन गरी मुद्दा दायर गरेको हो । भन्सार कार्यालय कर्मचारीको रोजाइको कार्यालयमा पर्दै आएको छ ।
इन्सपेक्टर र मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर
अख्तियारले सोमबार नै अन्य तीनवटा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीका इन्सपेक्टर, मालपोतका नासु, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध मुद्दा दायर गरेको हो । दुई साताअघि घुससहित पक्राउ परेका इन्सपेक्टर केशव बस्नेतविरुद्ध आयोगले मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराका तत्कालीन प्रमुख बस्नेतलाई आयोगको टोलीले १५ हजार घुससहित पक्राउ गरेको थियो । नदीजन्य पदार्थ ढुवानी गर्ने व्यवसायीलाई धम्काएर उनले घुस लिएका थिए ।

त्यस्तै, मालपोत कार्यालय चाबहिलका नासु चन्द्रबहादुर श्रेष्ठविरुद्ध समेत मुद्दा दायर भएको छ । उनी दुई हजार घुससहित पक्राउ परेका थिए । फाइल खोजिदिन उनले दुई हजार घुस लिएको अख्तियारले जनाएको छ । नक्कली लालपुर्जाका आधारमा धनीलाई थाहा नै नदिई जग्गा बिक्री गरेको आरोपमा गत वर्ष प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनी पनि करोडपति नासु हुन् । जसको धापासीमा तीन वटा घर छन् ।

प्रतिक्रिया दिनुहोस्