Logo
Logo

समाजसेवामा सामाजिक संघ-संस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति


378
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । फोकस नेपालले शनिवार लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ–संस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उनले समाजको सेवामा सामाजिक संघ–संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छा हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भने । लोकतन्त्र स्थापनका लागि सामाजिक संघ–संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघ–संस्थाले चेतना बाँड्नुका साथै उनीहरुलाई राहत दिने काम गरेको स्मरण गरे । झण्डै ५० हजारको हाराहारीमा रहेका सामाजिक संघ–संस्थाले आफ्नो ठाउँबाट समाजका लागि केही न केही उल्लेखनीय काम गरेको उनको भनाइ थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सामाजिक संघ–संस्थाले संगठित नागरिकको भूमिका खेलेको बताए । “युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच राख्ने हो भने देशको विकास हुन केही समय लाग्दैन”, उनले भने ।

मन्त्री गहतराजले यस वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गरे । नेपाली कांग्रेसका नेता एवं सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले आगामी वर्ष निर्वाचनको वर्ष भएकाले निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन सबै लाग्नुपर्ने बताए । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघ–संस्थाले नजिक बनाएको बताए । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्