Logo
Logo

अघिल्लो सरकारको गलत नीतिका कारण अर्थतन्त्रमा समस्या देखियो : नेता गुरुङ


1.9k
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले अहिलेको आर्थिक सङ्कट देखापर्नुमा अघिल्लो सरकारका गलत नीति नै जिम्मेवार रहेको बताएका छन् ।

संवाद डबलीले मंगलबार आयोजना गरेको कार्यक्रममा नेता गुरुङले गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको कारबाहीको पक्षमा आफ्नो पार्टी रहेको बताए । उनले सरकारको निर्णयप्रति पार्टीको समर्थन रहेको बताए । उनले अहिले देखापरेको अर्थतन्त्रको समस्या रातारात नभएर विगतका सरकारका नीतिका कारण भएकोमा जोड दिए ।

“पार्टी पनि सरकारले गरेको पक्षमा छ, सरकारले गरेको निर्णयमा पार्टीको समर्थन छ । कारबाही गर्ने समय र पस्थितिबारे त सरकारले अवश्य पनि सोचेरै गरेको होला, त्यो सरकारले मूल्याङ्कन गरेको होला”, गुरुङले भने, उनले वित्तीय एकाधिकार दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या देखापरेको बताए ।

खुला बजार अर्थतन्त्र, निजीकरण, उदारीकरण चिन्तनले कृषिलगायत राष्ट्रिय उद्योग विस्थापन हुनुको साटो वित्तीय एकाधिकार पूँजीमा भर पर्नुपर्ने अवस्था देशमा सिर्जना भएको उल्लेख गर्दै गुरुङले परनिर्भरता बढ्दै गएको बताए । उनले परनिर्भरतलाई न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउने राज्यको भूमिका हुनुपर्ने तर त्यो विगतमा नभएको बताए ।

कोरोना भाइरसपछि आन्तरिक उत्पादनलाई जोड दिनुपर्ने, कृषि उत्पादनलाई जोड दिनुपर्ने, औद्योगिक उत्पादनलाई जोड दिनुपर्ने, मझौला उद्योग सञ्चालनमा जोड दिएर रोजगारलाई विस्तार गर्दै राष्ट्रिय पूँजी निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्नुपर्छ भन्ने नाममा नेपाल राष्ट्र बैंकबाट रु दुई खर्बभन्दा बढी सहुलियत ब्याजमा ऋण जारी गरेर अनुत्पादनशील क्षेत्रमा लगानी भएको नेता गुरुङले तथ्य पेश गरे ।

ऋण घरजग्गा, शेयर जस्ता अनुत्पादन क्षेत्रमा लगानी भएको बताउँदै गुरुङले भने, “सेवामुखी क्षेत्रमा लगानी भएपछि उत्पादन दिएन, उत्पादन नदिएपछि सेवामुखी क्षेत्रमा मुद्रा आपूर्ति हुने र उत्पादन नहुने भएपछि बाहिरबाट वस्तु आयात हुन थाल्यो, यसले व्यापार असन्तुलित बन्दै गयो ।” माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रहेका गुरुङले विप्रेषण बैंकिङ प्रणालीभन्दा बाहिरबाट आएकाले राष्ट्र बैंकमा डलर जम्मा नभएको बताए । गठबन्धनको निर्णय विपरीत केही स्थानमा उम्मेदवारी दिएको कुरा सुन्नमा आएको बताउँदै गुरुङले उम्मेदवारी फिर्ता लिने बेलासम्म समस्या हल हुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्