काठमाडौं । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२-०२५प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु६४प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका-८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए ।
पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए ।














