काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको ‘नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा रहने भएको छ। कांग्रेसले १५औँ महाधिवेशनमार्फत विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिले गर्ने व्यवस्था गरेको हो।

पार्टीमा वरिष्ठ उपसभापतिको व्यवस्था पनि पहिलो पटक गरिएको हो। उक्त पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।
नयाँ विधानअनुसार अब शर्माले नै पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्नेछन्। नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले प्रतिष्ठानको नेतृत्व वरिष्ठ उपसभापतिलाई दिने प्रस्ताव गरेको थियो, जसलाई भर्खरै सम्पन्न १५औँ महाधिवेशनले पारित गरेको हो।
तर, संशोधित विधानको अन्तिम प्रतिलिपि तयार भइसकेको छैन। विधान मस्यौदा समितिका सदस्य एवं पूर्वसहमहामन्त्री जीवन परियारले वरिष्ठ उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने प्रस्ताव समितिबाट पास भएको पुष्टि गरे।
यसअघि सभापतिले तोकेका उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने वैधानिक व्यवस्था थियो। विधान संशोधन गरी वरिष्ठ उपसभापति पद सिर्जना गरिएपछि सोही पदलाई प्रतिष्ठानको जिम्मेवारी दिने व्यवस्था गरिएको हो।
गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि सभापतिमा चयन भएका गगन थापाले तत्कालीन उपसभापति विश्वप्रकाश शर्मालाई प्रतिष्ठानको संयोजकको जिम्मेवारी दिएका थिए। अहिले वरिष्ठ उपसभापति बनेका शर्मालाई नै सभापतिको चाहनाअनुसार प्रतिष्ठानको नेतृत्व सुम्पिने गरी विधानमा व्यवस्था गरिएको नेताहरूको भनाइ छ।
यसअघि १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई प्रतिष्ठानको संयोजक बनाएका थिए। संशोधित विधानमा वरिष्ठ उपसभापतिलाई केन्द्रीय कार्यालय सञ्चालनको संयोजन गर्ने र सभापतिको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अधिकारसमेत दिइएको छ।















