काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उजले पाँच वर्षको नेतृत्व गरेको दलले गन्तव्यमा नलगी बीचमा छोड्दा देश र जनताको समय खेर गएको बताए ।
‘यसैले अबको पाँच वर्ष कांग्रेसले काम गर्ने जिम्मेवारी प्राप्तिका लागि सङ्कल्प पत्र लिएर जनतामा आएका छौँ, अबको पाँच वर्षमा हामीले पनि जिम्मेवारी पूरा नगरे तल झार्नुस्, अबको पाँच वर्ष स्थानीय तहमा कांग्रेसले असल शासन, जवाफदेहिता, पारदर्शिताजस्ता विषयलाई पूर्णरुपमा पालना गराउनेछ’, महामन्त्री थापाले भने ।
पैसा खर्च गरेर चुनाव जिती स्थानीय सरकारबाट उठाउने चाहना नराख्न पनि उनले पार्टीका तर्फबाट चुनाव लड्न लागेका नेता, कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तह निर्वाचनमा जित्ने जनप्रतिनिधिलाई राखेर घोषणापत्रमा उल्लेख भएअनुसार काम गराउन कार्यशाला गोष्ठी गरी जिम्मेवारी दिने गरी प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यक्रम बनिसकेको जानकारी पनि महामन्त्री थापाले गराए ।














