काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापित अराजक अभिव्यक्ति दिएका छन् ।
बिहीबार नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेका थिए । उक्त प्रश्नमा स्थापितले विद्यार्थीलाई थर्काएका छन् ।

एक छात्राले ‘मी टु’बारे प्रश्न गरेपछि आफू बसेको कुर्सीबाट उठेर प्रश्न गर्ने विरुद्द स्थापित जंगिए । विद्यार्थीलाई थर्काउँदै उनले भने- ‘मलाई लागेको आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ । यु आर नाइस लेडी तर तपाईँको थुतुनो ठिक छैन ।’
उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’
कार्यक्रममा काठमाडौं महानगरका उम्मेदवारहरु बालेन साह, समिक्षा बास्कोटा र सुशिल थापा सहभागी रहेका थिए ।











