Logo
Logo

ओलीको अपिल कि कांग्रेसमाथि आरोपपत्र ?



काठमाडौं । पछिल्लो समय नेकपा एमाले र नेपाली कांग्रेसबीच आरोप–प्रत्यारोपको शृँखला बढ्दो छ । मुख्यतः स्थानीय तह निर्वाचनको सरगर्मी बढेसँगै यी दुई दलबीच जुहारी नै चलिरहेको छ । अन्य राजनीतिक दलबीच पनि जुहारी नचलेको होइन, तर कांग्रेस–एमाले जति होइन ।

यो शृँखला एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएदेखि नै सरु भएको हो । ओलीलाई सत्ताच्यूत गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा सत्तारोहण गरेपछि कांग्रेस, एमाले र माओवादीबीच शत्रुवत सम्बन्ध छ ।

एमालेले वर्तमान सरकारलाई परमादेशी सरकार भन्दै आएको छ । स्थानिय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने क्रममा कांग्रेसले एमालेलाई ‘अवैधानिक पार्टी’ नै भन्यो । सर्वोच्च अदालतको आदेशबाट जन्मेको पार्टीको वैधानिकता के ? भन्दै कांग्रेसले प्रश्नसमेत गर्यो ।

कांग्रेस घोषणापत्रको अधिकांश भाग एमाले नेतृत्वको सरकारले गरेका गलत काम र ओली नेतृत्वमा भएको असंवैधानिक कदमको आलोचना गरिएको छ ।

कांग्रेसको घोषणापत्र जारी भएपछि ओलीले कांग्रेसको घोषणापत्रलाई ‘पागलहरुको आलाप’समेत भन्न भ्याए । त्यसको जवाफमा कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष ओलीलाई ‘ट्युसन पढाउनुपर्ने’ सम्म भने ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धन र एमाले नेतृत्वको गठबन्धन चुनावी सभामा व्यस्त छन् । आफ्नो एजेण्डाहरु जनतालाई सुनाएर भोट माग्न आयोजना गरिने निर्वाचन सभा मुख्यतः विपक्षीलाई लान्छाना लगाउने सभाको रुपमा सम्पन्न हुँदै आएका छन् ।

यसैबीच, आइतबार एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै मत माग्न अपिल जारी गरे । ओलीको अपिल पनि कांग्रेसविरुद्ध भडासले भरिएको थियो ।

कांग्रेविरुद्ध ओलीको अनेक आरोप

पुस ५ को कदमपछि नेकपा एमाले त्यसमा पनि अध्यक्ष ओलीलाई ‘प्रतिगमनकारी, पश्चगमनकारी’का रुपमा सम्बोधन हुने गरेको छ । तर, आइतबार भने ओलीले उल्टै कांग्रेसलाई पश्चगमनकारी भन्यो । शब्द ठ्याक्कै पश्चगमकारी थिएन । तर, ‘कांग्रेसले देशलाई पछाडि फर्काउन खोजिरहेको छ’ ओलीले भने ।

अपिल सार्वजनिक गर्ने क्रममा ओलीले भने– ‘कांग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्याे । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो । अहिले विभिन्न शक्तिसँग मिलेर देशलाई पछाडि फर्काउन खोजिरहेको छ ।’

राणा, राजा र कांग्रेसलाई एउटै बकेटमा राखेर व्याख्या गरेका ओलीले यी तीनै शक्तिले शासन गर्दा देशमा विकास नै नभएको भने । ओलीले भने– ‘राणा, राजा र कांग्रेसले लामो समय शासन गरे । वहुदलीय व्यवस्था स्थापनापछिको ३० वर्षमा अधिकांश समय कांग्रेसले शासन पर्यो । तर, देश विकास गर्ने सन्दर्भमा कांग्रेसको केही भूमिका रहेन ।’

ओली आरोपको सार– नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा बाधा खडा गर्यो भन्ने हो । एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गति लिइरहेका बेला कांग्रेसले रोक्ने षड्यन्त्र गरेको ओलीको आरोप थियो ।

ओलीले भने– ‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो ।’

ओलीले अपिल जारी गर्ने क्रममा कांग्रेसले एमालेसँग कहिले सहकार्य गर्न नचाहेको दुखेसो पोखे । राणाहरुसँग समेत सहकार्य गरेको कांग्रेसले एमालेसँग सहकार्य गर्न नचाहेको भन्दै ओलीले भने– ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ । उसले राणा शाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको घोषणा गरेको सर्वविदितै छ ।’

कांग्रेसले अहिले दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेको समेत ओलीको आरोप छ । त्यतिमात्र होइन, वर्तमान गठबन्धनकै बदलामा कांग्रेस जनतामाथि विश्वास नगर्ने अवस्थामा पुगेको ओलीले अर्को आरोप लगाए ।

ओलीले भने– ‘ऊ (कांग्रेस) जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षडयन्त्र र मिलावटबाटै सत्ता भोग गर्न चाहन्छ । आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनतामाथि विश्वास गर्दैन ।’

शुक्रबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा निर्वाचन सभा आयोजना गर्यो । सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए– ‘हाम्रा प्रतिस्पर्धा प्रचण्डसँग होइन, केपी ओलीसँग हो ।’

पछिल्लो राजनीतिक समीकरण हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राजमो एक ठाउँमा छन् । एमालेले धार्मिक अतिवादी शक्तिहरुको नेतृत्व गरेका छन् ।

यस्तो अवस्थामा ओली सबै दलप्रति उत्तिकै आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने सामान्य आकलन रहेतापनि कांग्रेसविरुद्ध मात्रै खनिँदै आएको छ । अर्थात, रामचन्द्र पौडेलले भनेजस्तै कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी जस्ता देखिएका छन् ।

निर्वाचनको मुखमा कुनै राजनीतिक दलले घोषणापत्र वा अपिल जारी गर्नु परम्परा नै हो । त्यसरी जारी गरिने घोषणापत्र, प्रतिवद्धतापत्र वा अपिल जो भनिएपनि त्यसमा राजनीतिक दलको एजेण्डा समावेश हुनुपर्ने हो ।

६७ बुँदे अपिलमा ओलीले ९० प्रतिशत त कांग्रेसलाई लान्छाना लगाउँनै खर्चेका छन् । अर्थात, ओलीद्वारा जारी अपिल, अपिल नभएर आरोपपत्र जस्तो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्