Logo
Logo

अख्तियारको तीन लाख गायब ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई नै झुक्याएर तीन लाख घुस गायब बनाउने उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठकका छोरालाई पक्राउ गर्न आयोग असफल भएको छ । मंगलबार नासु पाठक र उनका छोरा आदित्यविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको हो ।


गत २१ बैशाखमा अदालतमा विचाराधिन मुद्दा जिताइदिने भन्दै पाठलके नेपालगञ्जको चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा तीन लाख घुस लिएका थिए । घुस लिने क्रममा छोरा आदित्य पनि त्यहाँ पुगेका थिए । घुस लिएलगत्तै आदित्य पैसा लिएर भागेका थिए । लगत्तै पुगेको अख्तियारको टोलीले उनलाई पक्राउ गर्न सकेन ।
करिब दुई महिनासम्म पनि उनी पक्राउ परेनन् । मंगलबार फरार अभियुक्त बनाएर आदित्यविरुद्ध समेत मुद्दा दायर गरिएको छ ।
‘स्टिङ अप्रेसन’को क्रममा अख्तियारले सेवाग्राहीलाई आफ्नै पैसा दिने गर्दछ । त्यसरी दिइने पैसाको नम्बर हुने र घुस लिनेले समाएपछि हातमा लाग्ने केमिकल समेत राखिएको हो । प्रमाण बलियो हुने भएकाले अख्तियारले यस्तो शैली अपनाउँदै आएको छ । सो स्टिङ अप्रेसनमा पनि आयोगले नै तीन लाख रुपैयाँ सेवाग्राहीलाई दिएको थियो । तर, सो रकम आयोगले बरामद गर्न सकेको छैन । आदित्य सोही दिनदेखि भारतमा लुक्दै आएको स्रोत बताउँछ । उनलाई हतियारका रुपमा मुद्दा चलाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
त्यस्तै सोही दिन पक्राउ परेका कार्यालय सहयोगी गयादिन गडरियाविरुद्ध समेत मुद्दा दायर भएको छ । उनले भने एक लाख रुपैयाँ घुस लिएका थिए । उनलाई नगदसहित आयोगले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्