
काठमाडौैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूलाई मात्रै नभएर सबैलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरि नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले निर्वाचनमा आफ्नो टिमलाई नजिताइकन आफूले मात्रै जित्ने सपना नदेख्न चेतावनी दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।
‘यो बहुदल अन्तर्गतको चुनाव हो । यहाँ टिमलाई भोट माग्ने काम गर्नुप¥यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मोर अगाडि जानुपर्छ’, उनले भने ।, ‘आफैं जितौं, आफैं जितौं भन्ने त्यो आफ्नो ठाउँमा होला तर टिमले नजितिकन आफूले मात्रै जित्ने भन्ने सपना नदेखेहुन्छ ।’
गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरेका छन् । ‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ’ उनको भनाइ छ, ‘विरोध गर्नलाई सजिलो छ । तर, हामी सबैले याद गरौं, प्रथम संविधासभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको हो नि ।’
चन्द्रागिरिमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरि र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उपप्रमुख उम्मेदवार छन् ।











