Logo
Logo

रसियन कम्युनिष्ट पार्टीका नेता ज्यूगानोभसँग नेकपा नेता योगेश भट्टराईको भेटवार्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभसँग भेट गरेका छन् । भेटमा नेता भट्टराईले नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो अवस्था र नेपालको बारेमा जानकारी गराए ।


रसियन संसद दुमाको आयोजनामा १ जुलाई देखि मस्कोमा जारी ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तराष्ट्रिय मञ्च’ मा भाग लिन मस्को पुगेका नेता भट्टराईले बुधबार नेता ज्यूगानोभसँग भेट गरेका हुन् ।
भेटमा नेता भट्टराईले नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको र तिनै तहको निर्वाचनमा विजय हासिल गरेको जानकारी दिए । अब नेपाल राजनीतिक स्थायीत्वसँगै तिव्र आर्थिक बिकासमा अघि बढेको उनले नेता ज्यूगानोभलाई जानकारी दिए ।
नेता ज्युगानोभलाई उनले नेपाल भ्रमणको निम्तो पनि दिए । प्रतिउत्तरमा नेता ज्यूगानोभले निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्दा आफू उत्साहित भएको बताए । ज्युगानोभले नेपाल भ्रमणको इच्छा पनि व्यक्त गरे ।
को हुन् ज्युगानोभ ?
सन् १९४४ को २६ जुनमा जन्मेका गेन्नाडी एन्ड्रीयभिच ज्यूगानोभ रसियन कम्युनिष्ट राजनीतिज्ञ हुन् । उनी सन् १९९३ देखि ‘कम्युनिष्ट पार्टी अफ द रसियन फेडरेसन’का प्रभावशाली नेता थिए । सन् २००१ मा उनी कम्युनिष्ट पार्टी अफ सोभियत युनियनका अध्यक्ष भए ।
उनी सन् १९९६ देखि काउन्सील अफ यूरोपको संसदीय सभाका सदस्य थिए । ज्यूगानोभले रुसको राष्ट्रपति पदमा चार पटक प्रतिस्पर्धा गरे । सन् १९९६ को चुनावमा उनी जित नजिक पुगेका थिए, तर दोस्रो राउन्डमा बोरिस एल्तसिनसँग झिनो मतले पराजित भए । सन् २०११ को सेप्टेम्बरमा ज्यूगानोभ चौंथोपटक राष्ट्रपतिका लागि भिडेका थिए । तर, उनी दोस्रो भए ।
योगेश किन पुगे मस्को ?
रसियन संसद दुमाको आधिकारिक वेवसाइडका अनुसार यही जुलाई १ देखि तीनसम्म हुने ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तराष्ट्रिय मञ्च’ मा विश्वभरीका १ सय ३२ मुलुकका ८ सय सांसदहरु सहभागी छन् । यसैगरी बिभिन्न देशबाट विषय विशेषज्ञहरु पनि कार्यक्रममा भाग लिन पुगेका छन् । यसैगरी फोरममा रसियन र अन्तराष्ट्रि«य सञ्चार माध्यमका ४ सय भन्दा बढी सञ्चारकर्मीहरु पनि सहभागी छन् ।

यस कार्यक्रममा अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरता, डिजिटल अर्थव्यवस्थाको विकास, युवा र पर्यावरणीय नीतिहरु मा सामरिक विषयहरू समावेश छन् । फोरमको ढाँचाभित्र रूस र अफ्रिका संसदीय सम्मेलन हुनेछ ।
फोरमलाई बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिने सम्बोधन गर्ने कार्यक्रम छ । यही फोरममा भाग लिन सांसद भट्टराई मस्को पुगेका हुन् ।
कार्यक्रममा आईपीयू राष्ट्रपति गब्रिएला क्वेव बारनन, एशियाई संसदीय सभाका अध्यक्ष, टर्कीका ग्रान्ड नेशनल विधानसभाका अध्यक्ष मित्तामी शान्टोपका अध्यक्ष लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्