काठमाडौं । पाँच वर्षअघि स्थानीय तह निर्वाचनको मुखमा काठमाडौं प्रहरीले काठमाडौंमा गुन्डाविरुद्ध अप्रेसन चलाएको थियो । निर्वाचनको बेला उनीहरूले धम्काउने गतिविधि गर्न सक्ने आँकलनमा अप्रेसन चलाइएको थियो ।
त्यतिबेला १२ जनाभन्दा धेरै गुन्डा पक्राउ परेका थिए । तर, यो वर्ष एकजना पनि गुन्डा नाइके पक्राउ परेका छैनन् । प्रहरीले धेरै जसो गुन्डा सुध्रिएको र निर्वाचन विरोधी हर्कत नगरेकाले उनीहरूलाई पक्राउ नगरिएको जनाएको छ ।

विगतको तुलनामा गुन्डागर्दी कम भएको छ । तर, पूर्णरुपमा भने नियन्त्रण हुन सकेको छैन । विभिन्न दलमा छिरेका गुन्डा नाइकेहरूले हाल राजनीतिक आवरणमा गुन्डागर्दी गरिरहेका छन् । जसकारण पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
पाँच वर्षअघिको स्थानीय तहको निर्वाचनको समयमा छविलाल जोशी काठमाडौंका प्रहरी प्रमुख थिए । उनले गुन्डा नाइकेहरू साजन महर्जन, कान्छा भनिने दीपेन्द्र प्याकुरेल, बसन्त भुषाल, संजीव लामा ‘स्याल,’ तेजेन्द्र गुरुङ, निरु लामा र निरज महर्जन ‘छुचुन्द्रो’, राजु बोगटी र पनित गुरुङ, रामेश्वर गौतम र श्याम मोक्तान लगायतलाई पक्राउ गरेका थिए । ठूलो कारबाही नभएपनि त्यसले गुन्डाहरूको भागभाग भएको थियो ।
अहिले गुन्डाहरूको गतिविधि नदेखिएको र अप्रेसन चलाउनु नपरेको प्रहरीले जनाएको छ । यद्यपि, देशैभरी गुन्डाहरूमाथि निगरानी गर्न प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको छ ।
उपत्यकामा दुई सय गुन्डा ?
प्रहरीले उपत्यकामा निगरानी गर्नुपर्ने सम्भावित व्यक्तिहरू कोसूची बनाएको छ । काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरी दाबी छ । तीमध्ये पनि काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन् ।
बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय रहेको प्रहरी तथ्याङक छ । तीमध्ये २२ जना नेपाली कांग्रेससँग जोडिएका छन् । १६ जना नेकपा एमाले, दुई माओवादी र एक जना राप्रपामा छन् ।
दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, झिंगे भनिने सञ्जय लामा लगायतका व्यक्ति कांग्रेससँग आवद्ध छन् ।
चाबहिल क्षेत्रका पुराना डन राजु गोर्खाली पहिला एमाले निकट थिए । अहिले कांग्रेसको महाधिबेशन प्रतिनिधि चुनिएका छन् । कांग्रेसकै सरकार र गृहमन्त्री भएकाले उनीहरू ढुक्कसाथ हिडेका छन् ।
चाबहिललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा जेल बसेर छुटेका हुन् । अहिले उनी कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रियताका साथ लागेका छन् ।
जोरपाटीका गुण्डा प्रकाश गोले पनि नेकपा एमालेसँग जोडिएका छन् । उनी टेन्डर, हप्ता असुली, धम्की र खुकुरी हान्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रहरी रेकर्डले देखाउँछ ।
नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमालेसँग आबद्ध रहेको प्रहरी सूची छ ।
महाराजगञ्जका पुराना गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ पनि एमालेसँग नजिक भए पनि हाल उनी सक्रिय छैनन् । उनी ठेक्कापट्टा, टेण्डर र मिटरब्याजसम्बन्धी कारोबारमा सक्रिय रहेको प्रहरी अभिलेखले देखाउँछ ।
इन्काउन्टरपछि बुलेटप्रुफ ज्याकेट, अहिले राजनीतिक छहारी
प्रहरीले २०७१–७२ मा एकपछि अर्काे इन्काउन्टर गर्न थालेपछि गोली हान्ने डरमा गुण्डा नाइकेहरू बुलेटप्रुफ ज्याकेट लगाउन थालेका थिए ।
२०७१ सालमा दिनेश अधिकारी चरीले प्रहरी गोलीबाट ज्यान गुमाए भने २०७२ मा कुमार घैंटेले । घैंटेको मृत्युपछि प्रमुख सहयोगी युवराज गुरुङ ‘सानुभाई’लाई बुलेटप्रुफ ज्याकेट लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
नुवाकोट प्रहरीले उनलाई २५ पुस २०७२ मा नुवाकोटको रातमाटे गाविसको महादेवफाँटबाट पक्राउ गरेको हो । उनको साथबाट एक राउण्ड गोली लोड गरिएको रिभल्भर र बुलेटप्रुफ ज्याकेट प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले खोजी गरेपछि उनी बुलेटप्रुफ ज्याकेट लगाएर नुवाकोटमा बस्दै आएका थिए । क्रसरमा धम्काउन हिडेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनका सहयोगी किरण छन्त्याल भनेर बेहोस बनाउने स्प्रे बोकेर हिड्ने गर्थे ।
घैंटे इन्काउन्टरमा मारिएपछि उनका सहयोगीहरू पनि भागेका थिए । फरार रहेका गुरुङलाई काठमाडौंमा पनि प्रहरीले खोजी गरेपछि उपत्यका बस्न छाडेका थिए ।
राजधानीमा दुई ठुला गुण्डा नाइके चरी र घैंटे प्रहरी मुठभेडमा मारिएपछि तितरबितर भएका गुन्डा नाइकेहरू अहिले विभिन्न किमिसका व्यापारमा जोडिएका छन् । तर, धम्की र असुली कम भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि, क्रसर क्षेत्रमा उनीहरूकै हालीमुहाली छ । यसमा प्रहरीदेखि नेतासम्म मिलेकाले डनहरू यो पेशामा सुरक्षित बनेका छन् ।
को-के गर्दैछ ?
गुण्डा नाइकेमध्ये केही जेलमा छन् । जेल बाहिर रहेकाहरू व्यवसाय र राजनीतिमा लागेका छन् । रमेश बाहुन भनिने सुजन पौडेल, अभिषेक गिरी, समिरमानसिंह बस्नेत जेलमा छन् । पौडेल लागूऔषध र हातहतियार मुद्दा तथा गिरी अपहरण मुद्दामा जेलमा छन् । बस्नेत शरद गौचन हत्या मुद्दामा जेलमा परेका हुन् ।
धादिङमा गुन्डागर्दी गर्ने राधे भण्डारी भने अझैं पनि पुरानै गतिविधिमा छन् । गत वर्ष एसपी रवीन्द्र रेग्मीले उनलाई पक्राउ गरेका थिए । पछि कांग्रेस नेताहरु लागेर उनलाई छुटाएका थिए ।
काठमाडौंका अर्का पुराना डन गणेश लामा गुन्डागर्दी छाडेर राजनीतिमा सक्रिय छन् । उनी नेपाली कांग्रेसको केन्द्रीय कमिटी सदस्य भइसकेका छन् । गुन्डागर्दीबाटै कमाएको पैसाले राजनीति गरेको आरोप उनीमाथि छ । सम्पत्ति शुद्धीकरणको मुद्दा पनि उनी झेलिरहेका छन् । विगतमा उनी पटकपटक पक्राउ परेका थिए ।
ठमेलका डन दीपक मनाङे गण्डकी प्रदेशमा मन्त्री छन् । उनका केही सहयोगीहरूले ठमेलमा अझै पनि दादागिरी देखाउने गरेका छन् ।
चक्रपथ क्षेत्रका पुराना गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ सक्रिय छैनन् । तर, अझै पनि ८–१० ‘केटा’ दायाँबायाँ लगाएर हिड्ने गरेका छन् ।
ललितपुरका मिनकृष्ण महर्जन, समीर केसीलगायत पनि ठेक्कापट्टा र राजनीतिमा लागेका छन् । स्वयम्भुका बाघे, बालाजु क्षेत्रका माइला लामाको सक्रियता नदेखिए पनि उनीहरू निगरानीमा रहेको स्रोत बताउँछन् ।
काभ्रेली समूहका दावा लामा त अहिले उम्मेदवार नै छन् । काभ्रेको भुम्लु गाउँपालिकामा उनी नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार छन् । लागूऔषध, ज्यान मार्ने उद्योग तथा अपहरण जस्ता मुद्दामा उनले सफाई पाएका थिए ।
बिष्णु लामा, संजीव स्याललगायत पनि कांग्रेसमा आबद्ध छन् । तर, उनीहरुले गुन्डागर्दी नगरेको प्रहरी अधिकारी बताउँछन् । काभ्रेकै सत्यमान लामा भने एमालेमा आबद्ध छन् । विराटनगरका पर्शुराम बस्नेत एमालेको राजनीतिमा सक्रिय छन् ।
८ वर्षअघि दिनेश अधिकारी चरी इन्कान्टरपछि नै गुण्डाहरूको सात्तो गएको थियो । पछि फेरि राजनीतिक आवरणमा सक्रिय हुन थालेकोमा घैंटे पनि मारिएपछि गुण्डाहरू तर्सिएका हुन् । पछि फेरि मनोज पुन पनि मारिए । त्यसपछि ठूला गुन्डाहरू ज्यान बचाउनतर्फ लागेका थिए । तर पनि केही टोले गुण्डाहरुले बेला बेलामा व्यवसायीहरूलाई दुःख दिँदै आएका छन् ।
एकपछि अर्काे गोली प्रहारपछि गुन्डाहरू सुध्रिएको प्रहरी दाबी छ । सात वर्ष हरेक महिनाजसो काठमाडौंमा गुन्डाले प्रहरी गोली खान्थे । महानगरीय प्रहरी अपराध महाशाखाले जेलबाट भागेका कैदी सन्की भनिने रावणजीत लामालाई सुन्धारामा गोली हानी पक्राउ गरेको थियो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै ढुङगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो ।
त्यही वर्ष ३ भदौमा प्रहरीकै गोलीबाट डन कुमार घैंटे मारिएका थिए । कपुरधारामा अपराध महाशाखाको प्रहरी टोलीसँग उनको मुठभेड भएको थियो ।
१३ मंसिरमा सुन्धाराको गेष्ट हाउसमा भगौडा प्रहरी छोटेलाल ठाकुरलाई प्रहरीले गोली हानी पक्राउ गरेको थियो । ठाकुर मोष्ट वान्टेड थिए । उनको साथबाट दुईवटा पेस्तोलसमेत बरामद भएको थियो ।
२२ पुसमा चोर पक्राउ गर्ने क्रममा पनि प्रहरीले गोली चलाएको थियो । न्यूरोडको सुन पसल चोर्ने दिलबहादुर पुनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । पुनका साथी अमृत बयलकोटीलाई गोली लागेको थियो ।
पहिला पहिला उपत्यकामा अपराधिक समूहहरूले गोली चलाउथे भने पछिल्लो समय प्रहरीले बढी गोली चलाउन थालेको छ । प्रहरी आक्रमक भएपछि उपत्यकाको शान्ति सुरक्षामा पनि धेरै सुधार आएको छ ।
पेशेवर अपराधीहरूलाई प्रहरीले गोली नै हान्न थालेपछि शान्ति सुरक्षामा सुधार आएको छ । जसकारण यसपटकको निर्वाचन पनि तुलनात्मक रुपमा शान्तिपूर्ण देखिएको छ ।
कोही उम्मेदवार, कोही जेलमा
उपत्यकामा पुराना डनमध्ये केही अहिले जेलमा छन् भने केही भने निर्वाचनमा उम्मेदवार बनेका छन् । पुराना डनमध्ये एक काजी शेर्पा (खुकुरी काजी) सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा भिड्दैछन् । एमाले प्रवेश गरेलगत्तै उनले मेयरको टिकट पाएका हुन् । यसअघि उनी कांग्रेसमा थिए ।
त्यस्तै, काभ्रेली समूह दावा लामा काभ्रेको भुम्लु गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार छन् । उनको दाबी अध्यक्षमै भएकोमा गठबन्धन हुँदा अध्यक्ष पद माओवादीको भागमा परेपछि उनी उपाध्यक्ष बनेका हुन् ।
कुनै समय इटहरीमा गुन्डागर्दीका कारण बदनाम भएका हेमकर्ण पौडेल पनि हाल मेयरको उम्मेदवार छन् । नेपाली कांग्रेसबाट उनी मेयरको उम्मेदवार बनेका हुन् ।
केही पुराना डन भने जेलमा छन् । अभिषेक गिरी, रमेश बाहुन, समिरमानसिंह बस्नेतलगायत कारागारमा छन् । जेलबाटै उनीहरूले आफुनिकट उम्मेदवारहरूलाई सहयोग गरिरहेको स्रोत बताउँछ । गिरीलाई त्यही कारण कांग्रेस नेताहरूले मोरङ कारागारमा सरुवा गराएका थिए ।











