Logo
Logo

दीपक मनाङे नेकपा प्रवेश, नेताहरुको असन्तुष्टि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ असार ,
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) प्रवेश गरेका छन् । मनाङेलाई नेकपामा प्रवेश गराइएकोमा कतिपय नेताहरुले भने असन्तुष्टि जनाएका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थाई कमिटी सदस्य पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् । मनाङेलाई टीका लगाउँदै र नेकपाको विधान हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे । मनाङे र कार्कीलाई पार्टीमा प्रवेश गराएपछि मुख्यमन्त्री गुरुङले देशको विकास र जनताको पार्टी भएकाले अन्य क्षेत्रमा अलमल नगरी नेकपामा आवद्ध हुनुपर्ने बताए । दीपक मनाङे नभई राजिव गुरुङ नेकपा प्रवेश गरेको र उनी विगतमा जस्तो गुन्डागर्दीमा नभएको मुख्यमन्त्रीको भनाई थियो । उनीसँगै विप्लव समूहका माछापुच्छ्रे गाउँपालिकाका संयोजक पुष्प कार्की बिहीबार बिहान नेकपा प्रवेश गरेका छन् ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे नेकपाकै सहयोगमा प्रदेशसभामा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले लामो समय सपथ लिन पाएका थिएनन् । पछि जेल चलान भए । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका गुरुङलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।
उनको प्रवेशप्रति नेकपाका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !” रसिया भ्रमणमा रहेका भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्