Logo
Logo

शीर्ष नेताले कहाँ-कहाँबाट मतदान गर्दैछन् ?


4.5k
Shares

काठमाडौं । भोलि शुक्रबार देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि सबै आ-आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन् । मतदानको लागि देशका विशिष्ट व्यक्तित्व तथा पार्टीको शीर्ष नेताहरू पनि आ-आफ्ना क्षेत्र पुगिसकेका छन् ।

प्रधानमन्त्री तथा नपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि डडेलधुरा पुगेका छन् । उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

सभामुख अग्निप्रसाद सापकोटाले सिल्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डे मतदान केन्द्रबाट मतदान गर्दैछन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने पर्वतको मोदी गाउँपालिका-७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका-२ को मतदान केन्द्रबाट मतदान गर्दैछन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इमालको सूर्योदय नगरपालिका-१ राष्ट्रिय निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् भने जसपाका अध्यक्ष उपेन्द्र यादवले विराटनगर- १४ स्थित स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका-२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्नेछन् । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका-६ स्थित नमोबुद्ध मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले भने अहिलेको निर्वाचनमा मतदान नगर्ने भएका छन् । संविधानको संरक्षक र देशवासीको अभिभावक भएको भन्दै राष्ट्रपति र उपराष्ट्रपतिले कुनै दल विशेषको उम्मेदवारलाई मतदान नगर्ने भएका हुन् ।

राष्ट्रपति भण्डारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका- ३ चपलीका मतदाता हुन् भने उपराष्ट्रपति पुनको मतदान केन्द्र रोल्पाको परिवर्तन गाउँपालिका-२ मा हरको छ ।

त्यस्तै पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले पनि यसपटक मतदान नगर्ने भएका छन् । आफू कुनै पनि पार्टीमा नभएको भन्दै नेता गौतमले यस निर्वाचनमा मतदान नगर्ने भएका हुन् । उनको मतदान केन्द्र बर्दियाको बाँसगढी नगरपालिका-१ मा रहेको छ ।

देशभर कुल १० हजार ७५६ मतदानस्थलमा रहेको छ भने २१ हजार ९५५ मतदान केन्द्र रहेको छ । मतदान बिहान सातबजेबाट अपराह्न पाँच बजेसम्म हुने छ ।

७५३ स्थानीय तहमा कुल ३५ हजार २२१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमा पालिका प्रमुख र उपप्रमुख १५०६ जना निर्वाचित हुनेछन् भने ६,७४३ वडाध्यक्ष निर्वाचत हुने छन् ।

अहिलेसम्म विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्