
काठमाडौं । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचनको काम नसकिँदै पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन् ।
शनिबार कार्यालयको काम गरिरहेकोको बेला स्वास्थ्यमा समस्य भएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा पत्रका पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए ।
उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद र कटारी नगरपालिका वडा—१० मा प्रहरीको गोली लागेर १ जना युवाको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ ।
विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुनः सुचारु नगरेपछि विवाद भएको थियो ।











