Logo
Logo

एसपी सरुवामा मनपरीः एक महिनामा दुई ठाउँमा सरुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार ।

नेपाल प्रहरीले शुक्रबार ६ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार श्यामकृष्ण अधिकारीलाई महोत्तरीमा पठाइएको छ । ओम अधिकारीलाई गोरखा  र गोरखामा कार्यरत भोला रावललाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । एसपी नवराज भट्ट बाग्लुङ, ईश्वर कार्की अपराध महाशाखा र कृष्णहरी शर्मा पोखरेललाई प्रहरी प्रधान कार्यालय मानवअधिकार शाखा सरुवा गरिएको छ ।

गोरखाका एसपी भोला रावल दिउँसै मादक पदार्थ सेवन गरेपछि कारबाहीस्वरुप सरुवा भएका हुन् । एक महिनाअघि २०७६ जेठ १२ मा भएको एसपी सरुवामा पाल्पामा पठाइएका श्यामकृष्ण अधिकारीलाई पुनः महोत्तरीमा खटाइएको छ । एक महिनाअघि गरेको सरुवामा उनी पाल्पामा पठाइएका थिए । तर उनी गएनन् । संगठनले खटाएको जिल्लामा नजाने एसपी अधिकारीलाई तनहुँका भएकै कारण एक महिनामै उनलाई पुनः महोत्तरीमा सरुवा गरिएको छ ।

आइजीपी सर्वेन्द्र खनालको गृहजिल्ला पनि तनहुँ नै हो । त्यसमा पनि तनहुँ नेकपाका सांसद किसान श्रेष्ठको दबाबमा खटाएको ठाउँमा नजानेलाई एक महिनामै महोत्तरी सरुवा गरिएको छ । उनी राष्ट्रिय अनुसन्धानको जागिरे भएको बेला जस्केलाबाट प्रहरी सेवामा छिरेका हुन् । ५ रुपैयाँको टिकट टाँसी निवेदन लेखका भरमा जागिर खाएका अधिकारी तालिम नै नगरी नेपाल प्रहरीमा छिरेका हुन् । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको कृपामा प्रहरीमा छिरेका उनी अहिले नेकपाका किसान श्रेष्ठमार्फत् एक महिनामै महोत्तरी सरुवा भएका छन् । आइजीपी खनालले गृहजिल्लाका अधिकारीलाई एक महिनामा पुनः महोत्तरी पठाएपछि संगठनभित्र असन्तुष्टी छाएको छ ।

त्यसो त प्रहरीभित्र एसपी अधिकारीलाई अमेरिकाको डीभी परेको अधिकृतका रुपमा पनि लिने गरिएको छ । उनलाई डीभी परेको आशंका गरिएको छ । प्रहरी स्रोतका अनुसार उनी सायद एक बर्षमा अमेरिका जानेछन् ।  त्यसअघि भारतसँग सीमा जोडिएको जिल्लामा जाने र कुस्त तस्करीको लाइन चलाएर कमाउने उनको उद्देश्य छ । त्यही उद्देश्य परिपूर्तिका लागि उनी पाल्पा नगई महोत्तरीमा सरुवा मिलाएको भन्ने आरोप छ ।

प्रतिक्रिया दिनुहोस्