Logo
Logo

सल्लाहकारको चंगुलमा फस्दै प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार
प्रधानमन्त्री केपी शर्मा ओली किन दिन प्रतिदिन विवादमा परिरहेका छन् । सरकार झन्–झन् अलोकप्रिय भइरहेका छ । सरकारको यस्तो असफलता कारण प्रधानमन्त्रीका सल्लाहकार टिमका व्यक्तिहरुको मानसिकताबाट पनि थाहा हुन्छ । उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार एउटा यस्तो ट्वीट गरेका छन् जसको भाषा अशोभनिय मात्र छैन, आपत्तीजनक समेत छ ।


सरकारको आलोचना बढीरहेको सन्दर्भमा आलोचना गर्नेहरुलाई रिमालले छौंडा भन्ने भाषा प्रयोग गरेका छन् । प्रधानमन्त्रीका सल्लाहकारबाट यस्तो भाषा प्रयोग हुनुलाई धेरैले अनौठो मात्र भनेका छैनन् आपत्तीजनक समेत भन्दै चर्काे आलोचना गरेका छन् ।
रिमालको यो ट्वीटले प्रधानमन्त्रीको सचिवालय कुन मानसिकताबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ । प्रधानमन्त्रीको ओलीको हरेक भाषणलाई पछिल्लो मजाकमा उडाइने गरिएको छ । किनकी वास्तविकता एकातर्फ हुन्छ भने प्रधानमन्त्रीले अर्कै कुरा गरेर जनताको समस्यामा मजाक उडाइरहेका छन् । केही दिनअघि काठमाडौंमा मास्क लगाउन नपर्ने अवस्था आएको भन्दा नेकपाकै कार्यकर्ता लज्जित भएका थिए । त्यो गलत सल्लाहकारको ब्रिफिङका कारण यस्तो भएको् थियो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले हाल भइरहेको सरकारको आलोचनालाई व्यवस्था उल्टाउने खेल भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । राजतन्त्र फर्काउन चाहनेहरु सरकारविरुद्ध लागेको उनको भनाई छ । सरकारले जनतामा उत्साह दिन नसकेको विषयमा उनलाई कत्ति पनि चिन्ता छैन ।


प्रधानमन्त्रीका अर्का सल्लाहकार डा कुन्दन अर्यालको ताल त्यस्तै छ । उनको ट्वीटर हेर्ने हो भने उनमा पनि आलोचना खेप्न सक्ने क्षमता नै छैन । सरकारविरुद्ध लाग्नेहरुलाई गाली गरिएका ट्वीटहरु उनी रिट्वीट गरेर बस्दछन् । पत्रकारहरुलाई गाली गरिएका ट्वीट रिट्वीट गर्दछन् । सरकार र मिडियाबीच बढ्दो समझदारी केलाएर सरकारको मिडिया पोलिसीमा भइरहेको गल्ती सुधार्न उनलाई कुनै चासो छैन ।


प्रधानमन्त्री ओलीले यसपटक धेरै राम्रा काम गर्ने आँकलन र अपेक्षा गरेका थिए । तर, त्यसमा उनी चुक्दै गएका छन् जसकारण जनतामा निराशा बढ्दो छ ।
तर, प्रधानमन्त्रीमा आफ्नो कमजोरीको अलिकति पनि महशुस गरेको उनको भाषणमा देखिन्न । यसको पछाडी सल्लाहकारहरुकै गलत सल्लाह भएको भनेर धेरैले मूल्याङकन गरेका छन् । उनका प्रमुख सल्लाहकारहरुको सामाजिक सञ्जालमा व्यक्त भएको अभिव्यक्ति हेर्दा उनी सहयोगीहरुकै चंगुलमा फस्दै गएको देखिन्छ । आलोचना गर्नेहरु सबै कांग्रेसबाट परिचालित व्यक्तिहरु भएको र जनता खुशी नै रहेको भनेर प्रधानमन्त्रीलाई गलत ब्रिफिङ हुने गरेको छ । त्यहीकारण प्रधानमन्त्रीमा अझैं अहंकार देखिनेगरेको छ ।
संसारमा धेरै शासकहरु सल्लाहकारकै कारण पतन भएका छन् । देश विकासको युग सुरु गर्ने महत्वपूर्ण अवसर पाएका प्रधानमन्त्री ओली पनि सल्लाहकारकै कारण पतनको डिलमा पुगेको नेकपाकै कार्यकर्ताहरु बताउँन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्