
पाँचथर । स्थानीय तह निर्वाचन अन्तर्गत पाँचथर जिल्लामा यसपटक नेपाली कांग्रेसले ३ प्रमुख थप्दा २ उप्रुमख गुमायो, नेकपा माओवादी केन्द्रले १ प्रमुख यथावत राख्दै ५ उपप्रमुख थप्यो भने एमालेले ३ प्रमुख र २ उपप्रमुख गुमायो ।
पाँचथरमा १ नगरपालिकासहित ८ पालिका छन् । जसमध्ये कांग्रेसले ६ प्रमुख र १ उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १ प्रमुख र १ उपप्रमुख जितेको छ भने माओवादीले १ प्रमुखसहित ५ उपप्रमुख जितेको छ ।
कुन पालिकामा कुन पार्टीले कुन पद जित्यो ?
कुम्मायक गाउँपलिकाको अध्यक्ष नेपाली कांग्रेसका बमप्रसाद लावती निर्वाचित भए भने नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर खड्का उपाध्यक्ष निर्वाचित भए ।
तुम्वेवा गाउँपालिकामा कांग्रेसका बाबुराम खड्का अध्यक्ष निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रका खड्गसुन्दर सम्बाहाम्फे उपाध्यक्ष निर्वाचित भए ।
फालेलुङ गाउँपालिकामा कांग्रेसका वीरविक्रम थाम्सुहाङ अध्यक्ष निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका मेहन्द्रहाङ जबेगु उपाध्यक्ष निर्वाचित भएका छन् ।
फाल्गुनन्द गाउँपालिकामा कांग्रेसका वृजहाङ आङदेम्बे अध्यक्ष निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्बाङ उपाध्यक्ष निर्वाचित भए ।
फिदिम नगरपालिकामा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले मेयर निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने उपमेयर निर्वाचित भएका छन् ।
मिक्लाजुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अमरराज माखिम अध्यक्ष निर्वाचित भए भने नेपाली कांग्रेसका सन्तकुमार शेर्मा उपाध्यउक्ष निर्वाचित भएका छन् ।
याङवरक गाउँपालिकामा नेकपा एमालेका भीमबहादुर योङया अध्यक्ष निर्वाचित भए भने नेकपा एमालेकै बावा मेन्याङ्बो उपाध्यक्ष निर्वाचित भए ।
हिलिहाङ गाउँपालिकामा नेपाली कांग्रेसका समरबहादुर अधिकारी अध्यक्ष निर्वाचित हुँदा नेकपा एमालेका सुमित्र उप्रेती उपाध्यक्ष निर्वाचित भए ।
कुन पार्टीले गुमायो, कुनले थप्यो ?
नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा ३ प्रमुख र ३ उपप्रमुख जितेको थियो । यसपटक ३ प्रमुख थप्न सफल कांग्रेसले २ उपाधयक्ष भने गुमाएको छ ।
अघिल्लो निर्वाचनमा ४ प्रमुख र ४ उपप्रमुख जितेको एमालेले यसपटक ३ प्रमुख र २ उपप्रमुख गुमाएको छ ।
अघिल्लो निर्वाचनमा १ प्रमुख मात्र जितेको माओवादीले यसपटक भने १ प्रमुखसहित ५ उपप्रमुख जितेको छ ।
अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक उपप्रमुख जितेको थियो । यसपटक भने, राप्रपाले अघिल्लो जित सुरक्षित गर्न सकेन ।
यसरी हेर्दा कांग्रेसले प्रमुख थपेर उपप्रमुख गमायो, एमालेले ७५ प्रतिशत गुमाउँदा माओवादीले ५ उपप्रमुख थपेको छ ।














