Logo

माओवादीको भागमा परेको दुई मध्ये एक उपमहानगर एमालेले खोस्यो



राजन पौडेल र नरुलाल चौधरी

काठमाडौं । सत्तारुढ गठबन्धनबीच ११ उपमहानगरपालिका बाँडफाँट हुँदा नेकपा माओवादी केन्द्रको भागमा २ परेको थियो । माओवादीको भागमा परेको दुवै उपमहानगरको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका र दाङको घोराही उपमहानगरपालिका माओवादीको भागमा परेको थियो । माओवादीको भागमा परेको दुई मध्ये एक जित्यो भने एक गुमायो ।

जितपुर सिमरामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार राजन पौडेल निर्वाचित भए । पौडेलले १८ हजार ७४३ मत पाए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरस्वतीदेवी चौधरी १७ हजार ७७९ मत प्राप्त गर्दै पराजित भए ।

उपमेयर भने नेकपा एमालेले जितेको छ । नेकपा एमालेका भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मत प्राप्त गर्दै निर्वाचित हुँदा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेपाली काग्रेसका मेघा शाही १५ हजार ८४२ मत प्राप्त गर्दै पराजित भए ।

दाङको घोराहीमा भने माओवादी पराजित भयो । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमराज शर्मा २६ हजार ३६८ मत प्राप्त गर्दै पराजित हुँदा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गर्दै निर्वाचित भए ।

घोराहीमा उपमेयर पनि एमालेले नै जितेको छ । एमालेका उपमेयरका उम्मेदवार हुमकुमारी डिसी ३० हजार ४०३ मतसहित विजयी हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका उपमेयर उम्मेदवार भुपबहादुर डाँगी ३० हजार ३५४ मत प्राप्त गर्दै पराजित भए ।

प्रतिक्रिया दिनुहोस्