काठमाडौं । नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौं महानगरपालिकामा पाँच वर्षमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती मौलाएका कारण जनताले राजनीतिक दलहरुलाई भोट नदिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकपछि पूर्वराज्यमन्त्री समेत रहेका मानन्धरले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजेको बताए ।
उनले भने, ‘पाँच वर्षसम्म जनताले के सोचे भने आफ्नो केही काम परेर वडामा जाँदाखेरी त्यहाँ ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता सबै काममा दुःख पाए सबै जनताले अनि पार्टीका मान्छेहरुले हामीलाई दुःख दियो भन्ने एउटा जनतामा आभाष भएको पाएँ । त्यसकारणले यो पार्टीमा लागेका वडा अध्यक्ष, मेयरहरुले दुःख दिएको कारणले गर्दाखेरी एकपटक हेरौँ न त पार्टीभन्दा स्वतन्त्र कस्तो हुँदोरहेछ भनेर टेस्टको रूपबाट गरेको जस्तो मलाई लाग्यो ।’
दुई, चार जनाको भोट नभएर लाखौँ जनताको मतलाई अन्तर्घात भनिन्छ भने अन्तर्घात स्वीकार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘लाखौँ जनताले स्वतन्त्र उम्मेदवारलाई मत दिइसकेपछि त्यसलाई पार्टीभित्रको अन्तर्घातको कारण त्यसो भएको भन्न मिल्दैन ।’














