काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी ओली सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने उनको भनाइ छ ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता श्रेष्ठले निश्चित रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो गल्ती गरेको र २–२ पटक प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको बताउँदै भने, ‘अब फेरि त्यस प्रकारको प्रतिगामी कदम कसैले पनि चाल्ने दुस्साहस कसैले नगरोस् । पटक–पटक प्रतिगनविरुद्ध संघर्ष गरिरहनुपर्ने अत्यन्तै दुःख लाग्दो स्थिति व्यहोर्नु नपरोस् ।’
अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण २०५९ सालमा प्रतिगमन भएर राजालाई बुझाएपनि अहिले फरक परिस्थितिमा देउवासँग सहकार्य गरिरहेकाले एमालेसँग कुनै पूर्वाग्रह नराखिने उनले बताए ।
नेता श्रेष्ठले भने, ‘तर एक पटकको प्रतिगामी कदम चालेका शक्ति सधैँ त्यस्तै भइरहन्छ भन्ने होइन, नयाँ ढंगले अगाडि बढ्न सकिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा उहाँको कारणले राजामा शक्ति गएर प्रतिगमन भएको थाहा छ ।’
एमाले अध्यक्ष ओलीले चालेको प्रतिगामी कदमसँग लड्न देउवाकै नेतृत्वमा गठबन्धन गर्दै नयाँ सरकार देउवाकै नेतृत्वमा बनाएको बताउँदै उनले भने, ‘एकपटक प्रतिगमनमा संलग्न भएको शक्तिले नयाँ ढंगले सच्चिएर आयो भने आत्मसमीक्षा गरेर नयाँ ढंगले जाउँ भनेर आयो भने आत्मसमीक्षा गरेर जाने तत्परता प्रदर्शन गर्यो भने नयाँ ढंगले जान सकिन्छ ।’














