काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सात दिनभित्र तोकेको ढाँचामा सपथ लिन स्मरण गराएको छ । आयोगले गाउँपालिका अध्यक्ष, नगरपालिका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखलाई यस्तो स्मरण गराएको हो ।

आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित जनप्रतिनिधिहरुमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख र सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था रहेको हुँदा सोही अनुसार गर्नु गराउनु हुन निर्वाचन आयोग सम्बन्धित सबैमा स्मरण गराउन चाहन्छ ।’














