काठमाडौं । बराबरी मत भएपछि बर्दिवास नगरपालिका-८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको छ । जसमा नेकपा माओवादी केन्द्रका उम्मेदवार समसेर सिंह विजयी भएका छन् ।

जेठ १ गतेमै सो वडाको मतगणना सम्पन्न भएर सिंह विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको थियो । वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका सिंहले विजय उत्सव मनाए ।
वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालका रुद्रबहादुर किङरिङ मगरले ७४४ मत पाएका थिए ।
तर बिहीबार गणना नभएको एउटा मतपेटिका भेटिएको थियो । एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामा र किङरिङको बराबरी मत आएको थियो ।
सिंह र किङरिङ दुबैले ७ सय ६६ मत बराबरी भएपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो । किङमिङले गोला तान्दा नपरेपछि सिंह पुनः विजयी भएको घोषणा गरिएको थियो । सिंह भने मतदान गणनास्थलमा उपस्थित थिएनन् ।














