
काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौनहिंसाको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उपत्यका प्रहरी अपराध महाशाखाले पीडितसँग सम्पर्क गरेर घटनाको अनुसन्धान सुरु गरेको हो ।
अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले उनीसँग सम्पर्क गरेर सत्यतथ्य बुझ्ने र उहाँलाई काउन्सिलिङ गर्ने प्रक्रिया अगाडि बढाएका बताए । ‘घटना बुझिसकेपछि उहाँलाई जसरी न्याय दिन सकिन्छ त्यो कुरामा प्रहरी अगाडि बढेको छ’, उनले भने ।
कानुनअनुसार बलात्कारको मुद्दामा हद म्याद नाघिसकेकाले प्रहरीले कानुनी पराशर्म पनि थालेको छ । एसएसपी कुँवरले भने, ‘पीडितलाई भेट्नका लागि अनुकुल समय मिलेको छैन । उहाँलाई भेट्न हामी घरमै जान्छौँ । उहाँको घरमा पनि अहिले भिडभाड नै छ, अनुकुल समय पारेर भेट्छौँ र कुरा बुझ्छौं ।’
पिडितले ७/८ वर्ष पहिले भएको घटना हालै टिकटकमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसलगतै घटनाका दोषीलाई कारबाही गर्न चौतर्फी दबाब बढेको छ । कानुन अनुसार हदम्याद नाघे पनि पीडिकलाई उन्मुक्ति नदिन दबाब छ ।
यस्तै प्रहरीले घटनामा संलग्न भनिएका व्यक्तिमाथि पनि निगरानी बढाएको छ । ‘अहिले नै पक्राउ गर्ने कुरा भएन। घटनाको वास्तविकता बुझेर र कानुनी पाटोबाट क्लियर भएर पीडितको कुरा सम्बोधन गर्छौँ’, प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भनेका छन् । दोषीमाथि सजाय माग गर्दै शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन समेत भएको छ ।
बालुवाटारमा आज स्वतःस्फुर्त प्रदर्शनमा सहभागीहरुले दोषीमाथि कारवाही गर्न र बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले यौन हिंसामा परेकी किशोरीलाई न्याय दिलाउने पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरेका हुन् ।











